२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

खेलाडीको माध्यमबाट नेपाललाई विश्वले चिनेको छ : मन्त्री पाण्डेय

शुक्रवार , फाल्गुण ४, २०८०

  • 871
    Shares
  • 871
    Shares
  • भैरहवा, ४ फागुन ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले खेलाडीको माध्यमबाट नेपाललाई विश्वले चिनेको बताएका छन् । उनले नेपाली खेलाडीको प्रशंसा विदेशमा पनि हुँदै आएको बताए ।

    जिल्ला खेलकुद विकास समिति, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले प्रतापपुर गाउँपालिका–७ मा आयोजना गरेको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० को उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।

    उनले गौतमबुद्ध र सगरमाथासँगै विश्वमा नेपाललाई खेलाडीले चिनाएको बताए । उनले भने, ‘खेलाडीको मनोबल उच्च बनाउनुपर्छ । लुम्बिनी प्रदेश सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न नीति तथा कार्यक्रम बनाएको छ । सरकारले नीति तथा कार्यान्वयन गर्दै जान्छ । निश्चित रुपमा परिणाम आउनेछ ।’

    उनले खेलकुदमा विजेता र उपविजेता दुवैले पुरस्कार पाए पनि निर्वाचनमा विजेताले मात्र प्रमाणपत्र पाउने गरेको बताए । उपविजेताले मनोबल उच्च राखी विजेता बन्नका लागि अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

    लुम्बिनी प्रदेशमा धेरै खेलाडी जन्मिएको भन्दै खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेको उनको भनाइ छ । खेल र पर्यटन एक-अर्काका परिपूरक भएको उनले बताए । बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रामग्राम, तिलौराकोटलगायतका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु यही प्रदेशमा रहेको उनले बताए । परनिर्भरताबाट बच्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले प्रदेश सरकारले स्थानीय उत्पादनलाई ब्राण्डिङ र बजारीकरणमार्फत दुईलाख युवाहरुलाई रोजगारी दिने नीति तथा कार्यक्रम बनाएको उल्लेख गरे ।