२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रामग्राम लिजमा दिने विषयमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन पर्यटनमन्त्रीको आग्रह

आइतवार , माघ २८, २०८०

काठमाडौं, २८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका छन् ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री किराँतीले प्रधामन्त्री पुष्पकमल दाहालमाथि रामग्रामको आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरे ।

उनले समिति बैठकमा सांसदहरुले प्रधानमन्त्री र मन्त्रीको मिलेमतोमा रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माण गर्ने लगायत समझदारी गर्न खोजिएको आक्षेप लगाएको भन्दै असन्तुटि जनाए । उनले पर्यटन मन्त्रीको रुपमा गल्ति भए जिम्मेवारी र सजायको भागिदार हुन आफू तयार रहेको बताए ।

उनले सांसदहरुले नै अनुमानित रुपमा प्रधानमन्त्रीमाथि आक्षेप लाउने कुरा राम्रो नभएको बताए । उनले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा सम्झौता गर्न आफू अध्यक्षतामा बसेको बैठकले स्वीकृत नदिएको बताए । उनले बैठकले कानूनी पक्षको समेत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस मात्रै गरेको दाबी गरे । 

उनले भने,‘लुम्बिनी विकास कोषको अध्यक्ष भएकाले समितिमा छलफल गर्ने र रामग्रामका विषयमा सम्झौता भएको हो भने त्रुटिपूर्ण छ । सरकारको तर्फबाट कतै पनि स्वीकृत दिएको छैन ।

लुम्बीनी विकास कोषको बैठकमा स्पष्ट छ कानूनी पक्षको समेत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिस बैठकले गरेको थियो । मन्त्री नै बसेर आफैँले सम्झौता गर्ने सस्कृति नसिकाउने भन्नेकुरा हुँदैन । रामग्रामसँग बिना प्रमाण सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोड्नु भएन ।

पर्यटनमन्त्रीको रुपमा गल्ति भएको छ भने आफैँ जिम्मेवारी र सजायको भागिदार हुन पनि तयार छु । तर अनुमानित रुपमा प्रधानमन्त्रीमाथि आक्षेप लाउने कुरा गरिमामय संसदीय समिति बैठकमा नगर्दा राम्रो हुन्छ ।’

उनले लुम्बिनी विकास कोषले रामग्राम लिजमा दिने विषयमा सम्झौता गरेको भए त्रुटिपूर्ण हुने बताए । उनले सरकारको तर्फबाट स्वीकृति नदिएको पनि स्पष्ट पारे ।