२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

कपिलवस्तुको तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृतका लागि अन्तिम मनोनयन पेश

बिहिवार , माघ १८, २०८०

  • 796
    Shares
  • 796
    Shares
  • लुम्बिनी, १८ माघ । 
    प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ । फ्रान्सका लागि नेपाली राजदूत तथा यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई बुधबार औपचारीक रुपमा मनोनयन दस्तावेज पेश गरेका हुन । 

    लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले विहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै फ्रान्सको राजधानी पेरिस स्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेज पेश हुनु निकै खुशीको कुरा भएको बताएका छन । 

    ‘संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागसहित विज्ञका रुपमा दुर्हाम विश् विद्यालयका प्रोफेसरहरुको टोलीले लामो समयदेखि गरेको कामले सार्थकता पाउनु हाम्रो लागि मात्रै होईन सम्पदाप्रेमी सबैका लागि खुशीको कुरा हो ’ विज्ञप्तीमा भनिएको छ । तिलौराकोट सन् २०२५ सम्ममा विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने तयारी सहित कोषकातर्फबाट आवश्यक प्रक्रिया सुरु भएकाले सबैको सकरात्मक साथ र सहयोग हुने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले विज्ञप्तीमार्फत भनेका छन् । 

    यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खनन्बाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरु जुटाएको थियो ।

    तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायहरुबाट चाहिने आवश्यक सहयोग साधन, श्रोतको सुनिश्चिता सरलता र मार्गनिर्देशका लागि निर्देशक समिति समेत समेत गठन गरिएको थियो ।  उक्त समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष रहने व्यवस्था छ ।  सरकारले २०७८/७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो । विश्व सम्पदा समितिको ४५ औं बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम गरिएको थियो ।   

    अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रुपमा पेश भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा केन्द्रमा दर्ताका लागि विधिवत रुपमा प्रक्रिया अगाडि बढेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले जानकारी दिए ।  

    manonyan.jpg

    सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक पर्ने प्रमाण र आधारहरु अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुले रणनितिक दस्तावेजमा सामेल गरिसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।