२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मैले देखेको जाजरकोट...

मंगलवार , माघ १६, २०८०

२०८० कार्तिक २७ गते शुक्रबार मध्यरातको समय । बिहानै पाल्पा जानुपर्ने कामका राती अबेरसम्म काम गरिरहेकी थिए । काम गर्दै गर्दा एकाएक घर हल्लियो, घरमा हल्लाखल्ला सुरु भइहाल्यो ।

एकैछिनमा त विभिन्न सञ्चारमाध्यममा समाचार आउन थाल्यो । ११ बजेर ४९ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ठूलोे भूकम्प गएको रहेछ । जाजरकोटमा गएको भूकम्पको धक्का महसुस हामी रुपन्देहीबासीले पनि गर्‍यौं।

भूकम्पले कहाँ कति क्षति पुर्‍याएको होला भनी मनभरी कुरा खेलाउँदै सुते। भोलीपल्ट पाल्पाको यात्रामा लागे । पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रम थियो । पाल्पा पुगेपछि मात्र थाहा भयो कि भूकम्पका कारण पाल्पाको कार्यक्रम स्थगित भएको छ । पाल्पाको कार्यक्रम स्थगित गरेर त्यहाँको टोली भूकम्पप्रभावित क्षेत्र जाजरकोटतर्फ लाग्यो । म भने पाल्पाबाट भैरहवातर्फ आए । देश–विदेशबाट राहतको लागि सहयोग जुटिरहेको थियो। विभिन्न दलका नेता, समाजसेवीहरु घटनास्थलमा पुगिसकेका थिए।

त्यहाँ पुग्नेहरु पीडामा परेकाहरुलाई सान्त्वना दिएर फर्कने गरेका थिए । यता गाउँ शहरबाट विभिन्न संघ–संस्थाका कर्मचारीहरु विभिन्न व्यक्तिहरुबाट राहत स्वरुप आर्थिक एवं खाद्यन्न, लत्ताकपडाहरु संकलन गरी ठूलाठूला ट्रक भरी सामान राखी ट्रकको अगाडी ब्यानर लगाएर राहत पठाएका समाचारहरु विभिन्न मिडियाहरुमा आउन लाग्यो।

राहत स्वरुप सहयोग गर्नेहरुलाई सहयोग गरियो भने सुन्दा पनि आनन्द महसुस भयो । संघ–सस्थाको तर्फबाट मैले पनि सहयोग गरे । सहयोग गरे पनि हामीले पठाएको राहत पीडितहरुको हातमा पुग्ला कि नपुग्ला भन्ने हुटहुटी मनमा परिरहेको थियो।

त्यहाँको दृश्य कस्तो होला ? एकपटक त्यहाँसम्म पुग्न पाए हुन्थ्यो भन्ने लाग्यो । तर, एक्लै जानका लागि सम्भव थिएन । आफैले स्थापना गरेका लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीका सदस्यहरुसँग कुरा राखे । मेरो कुरामा सबैजना सहमत हुनुभयो । २–४ जना मसँगै जान तयार पनि हुनुभयो।

जाने भएपछि साथीहरुसँग केही कुरा राखे, गएर हेरेर मात्र फर्कने मात्र होइन । त्यहाँको वास्तविक पीडा बुझ्न केही समय लाग्ने भएपछि क्लबकी अध्यक्ष प्रतिमा तिमिल्सिना र म जाजरकोट जाने निधो भयो । त्यसपछि मैले एउटा सहयोगको लागि अनुरोध गरे । म आफैले सञ्चालन गरेको विद्यालय हेभेन्ली गार्डेन किड्स क्याम्पसका शिक्षकशिक्षिका, कर्मचारी र अभिभावकहरुसँग सहयोग मागे । त्यसै गरी प्रतिमा तिमिल्सनाले पनि सहयोगको आव्हान गरिन । त्यसपछि सहयोगस्वरुप लत्ताकपडा र खाद्यान्नको ओइरो लाग्यो । लगभग एक ट्रक सामान संकलन भयो। अब रह्यो जाजरकोटको यात्रा । अन्जान ठाउँमा दुवैजना महिला कसरी पुग्ने होला भन्ने कुराले केही समय मनमा अनेकन कुरा खेले । जाजरकोट जाने नै निधो गरेपछि सहजीकरणका लागि कोही त चाहियो । त्यही बीचमा जाजरकोटमा भूकम्प गएदेखि नै स्वयंसेवकको रुपमा कार्यरत एकजना साथीको बारेमा जानकारी भयो । उहाँको समन्वयमा जाजरकोट जाने तयारी पूरा भयो।

त्यहाँको विषयमा सहजीकरण गरेका कारण हामीमा थप उर्जासँगै सानत्वना मिल्यो । राती९ बजे हामी भैरहवाबाट जाजरकोट र रुकुमका लागि निस्कियौ । हामीले संकलन गरेको सामान बुटवलमा एकजना साथीकोम थियो । बुटवल पुगेर सामान ट्रकमा लोड गरी २०८० पुस ३ गते रातीको ११ः३० बजे बुटवल बसपार्कबाट पश्चिम जाने बस चढ्यौं । बहिनी प्रतिमा र मरो पहिलो दिनको बसाई कोहलपुरमा रह्यो । अर्काे दिनको बिहान ३ः२० बजे हामी सुर्खेततर्फ लाग्यौं । हाम्रो सामान ट्रान्सपोर्टमा थियो । सामान आइपुग्न केही समय लाग्ने भएपछि समयको सदुपयोग गर्दै सुर्खेतमा रहेका शैक्षिक तथा सामाजिक संस्थासँग भेटघाट गर्‍यौ।

आफैले स्थापना गरेको इनरह्वील क्लब र मन्टेश्वरी एशोसियसनका सञ्चालक तथा क्लबका पदाधिकारीहरुसँगं छोटोमिठो अन्तरक्रिया कार्यक्रम गर्दै सुर्खेतको धार्मिकस्थल (मन्दिर) देउती बजै, कांक्रे विहार लगायतका स्थानको दर्शन गरी हाम्रो अघिल्लो गन्तव्यतिर लाग्यौं । सुर्खेतबाट बस चढेर छिन्चु भन्ने ठाउँमा पुग्यौं । त्यहाँबाट फेरी अर्को बस फेरेर जाजरकोटको यात्रा सुरु ग¥यौं । धेरै वर्षपछि बसको यात्रा त्यसैमाथि बस फेर्दै हिंड्ने कुराले मनमा अनेकन तरंगहरु उठिरहेका थिए।

दुवै दिदीबहिनी दुःखसुखको कुरा गर्दै यात्रा छोट्टाइरहेका थियौं। जति अगाडि पुग्यो, उति कति बेला पुग्ने होला भन्ने कौतुहलता लागिरहेको थियो। यसरी झमक्क साँझ पर्दा जाजरकोटको खलङगा पुग्यौं । बसबाट ओर्लिएपछिको दृष्य केही भत्किएका घरहरु, एकदुई वटा होटल, बैंकहरु र सानो बजार रहेछ। तर यहाँको एउटा रमाइलो कुरा त्यहाँ पनि काठमाडौंमा जस्तै पठाओ राईडर भेटिदा रहेछन् । पठाओको सेवाले हाम्रो यात्रा थप सहज गरायो। मनमा अनेकौ कुरा खेल्दै यात्रा गरिरहँदा काले गाउँ पुगेछौं । त्यो दिनको हाम्रो बास बस्ने ठाउँ त्यही गाउँमा रहेछ। यहाँबाट समन्वय गरेको व्यक्ति पनि हामीलाई भेट्न यहि आउनुभयो । कालेगाउँबाट देखिने बिहानीपखको दृष्य अत्यन्तै रमणीय थियो। ती डाँडाबाट झरेको कलकल झरना, नजिकै जस्तै देखिने हिमाल, तलपट्टी कलकल बगेको भेरी नदी, यी सबै दृष्य क्यामेरामा कैद गर्दै हामी रुकुमको केन्द्रबिन्दु आठविसकोट पुग्यौं। त्यहाँको अवस्था अत्यन्तै दयनीय थियो। घरहरुदेखि स्कूल, संघ–संस्थाका भवनहरु सबै भूकम्पले ढलाएको रहेछ। कति संरचनाहरु भग्नावशेषहरुको छेउमा बनाइँदै रहेछ। स्कूलका कक्षाकोठाहरु तिरपालको रुपमा परिणत रहेछन्। स्वयंसेवकको सहयोगमा त्यहाका गाउँ र गाउँलेको अपेक्षा र चित्त दुखाई सुन्दै साँझपख झोलुंगे पुल तरेर रुकुमबाट जाजरकोटको ठूलाबगरमा बन्दै गरेका बस्तीमा पुग्यौं।

Rachana Chhetri 1.jpg

त्यहाँ आजसम्म पनि बिजुली बत्ति पुगेको रहेनछ। भुकम्पले ढलाएका घरहरु गाउँका दाजुभाइहरुको सहकार्यमा टहरा बनाउँदै रहेछन्। खुसीको कुरा माननीय प्रतिनिधि सभा सदस्य (सांसद्) डा.तोसीमा कार्कीको नेतृत्वमा ठूलाबगर गाउँमा बिजुली र घरटहराहरु बन्दै विकासको लहर देख्यौं।

यो कुरा त्यही पुगेर मात्र थाहा भयो । त्यहाँका जनताले उज्यालो बस्ती पाउने भए भन्ने सुन्दा असाध्यौ खुसी लाग्यो। मनैदेखि मैले मा.सांसद् तोसीमालाई धन्यवाद पनि दिए। हामी नितान्त गाउँमा पुगेका थियौ । त्यहाका अर्गानिक खाना, त्यहीकै खोलाको माछाको तातो झोल खाएर खार्दै गर्दा निकै आनन्द आयो। अर्को दिनको हाम्रो अवलोकन रुकुमको खालचौरमा रह्यो। खालचौरमा ७० घरधुरी भत्किएका रहेछन्। त्यहाँका हरेक घरहरुमा क्षति पुगेको थियो । छरपस्ट भएका भग्नावेश घरहरुले गाउँ नै उजाडीएको थियो।

सास रहुन्जेल आस हुँदो रहेछ भनेझै त्यहाँका मानिसको हिम्मत र साहसलाई मान्नै पर्छ । पीडाकाबीच जंगलमा गएर काठ चिरेर घर टहराहरुको निर्माण गरिरहेका थिए। पहाडको बाटो कान्ला र भिर गर्दै हरेक क्षणको हरेक दृष्य क्यामेरामा कैद गर्दै बहिनी प्रतिमा र त्यहाको अवस्था अवलोकनमा लागि रह्यौ।

खेतबारीमा लगाएका अन्नबालीले मनमा कतै रमाइलो गराइरहँदा अर्कोतर्फ  भत्केका घर, मनिल र निराश अनुहारहरु, मधुर स्वरहरुले कताकता पीडाबोध गराएको थियो।

किस्ताकिस्तामा आउने सरकारले दिने राहत कहिले पाउने हुन् ? कतिले पाउने हुन् भन्ने कुरा मनमा उठिरहेको हुन्थ्यो । संघ–संस्था र समाजसेवीले पठाएको राहत सामग्री पनि सबैले नपाएको गुनासो सुनियो । धेरै जनाले अहिलेसम्मपनि राहत नपाएको गुनासो गरिरहन्थे। जिल्लाजिल्लाबाट पठाएको कतिपय राहत सामग्री जिल्ला प्रशासन कार्यालय, ट्रान्सर्पोट मै थुप्रिएको खबर पढ्दा र सन्दा निकै असहज लागिरहेको थियो। त्यहाँ पुग्दा म आफैलाई पनि त्यो महसुस भयो। बल्लतल्ल स्थानीयस्तरमा पुगेको राहत सामग्री पार्टीगत हिसाबमा वितरण गरिदो रहेछ।

पार्टीगत पहुँच नहुनेहरुले लामो समयसम्म पनि राहत पाएकै रहेनछन्। त्रिपालमा बस्दा घामपानीले त्रिपाल छियाछिया भएका आफ्नै आँखाले देख्दा र भोग्दा सारै नरमाइलो लागेको थियो। त्यहाँका मानिसमा नयाँ मान्छे देख्दा अलि आशा पलाएको देखियो। यस्तो विषम परिस्थितिमा पनि गाउँघरमा आएका पाहुनाप्रतिको सेवा र सत्कार देख्दा हर्ष विभोर भएर आयो । एउटी बुढीआमाले हाम्रो लागि खाना बनाएर खुवाउनुभयो। उहाँको हातले पकाएको त्यो मीठो भात, माछाको रस, भिर महुरीको मह, भैसीको दुध आज पनि मेरो मानसपटलमा ताजै छ। यो देशको बिडम्बना भनौं या बाध्यता, गाउँमा युवा शक्ति लगभग शुन्य जस्तै थियो।

रोजगारको लागि सबै युवा बाहिर गाउँघरमा ६०/७० वर्षका बुढा बाआमा मात्र  देखियो। एक दिन भरी एक जना ७० वर्षिय बुवाको घर बनाउन केही आर्थिक सहयोगसहित श्रमदान गर्‍यौं। त्यसपछि अर्को नजिकैको गाउँमा समस्यामा परेकी आमाको घरमा पुगौं। उहाँलाई शारीरिक समस्या रहेछ। हामीलाई देख्दा उहाँको आँखामा आशाको किरण पलाएको थियो। डाक्टरको सल्लाह लिएर उहाँको उपचारमा सहयोग पुर्‍याउने बाचाका साथ हामी बसिरहेको होटलबाट कालेगाउँ फर्कियौं। सबै गाउँ ठाउको अवलोकन गरिसकेपछि हामीले ल्याएको राहत कुन ठाउँमा बढी आवश्यकता रहेछ भन्ने थाहा भयो । हामीले त्यहीअनुसारको सामान वितरण गर्न गयौं। कुसे गाउँपालिकामा एकदमै कम मात्रामा राहत सामग्री पुग्ने गरेको रहेछ। त्यहाँको भूकम्पपीडित समस्यामा परेको थाहा पाएपछि राहतस्वरुप कपडा, खाद्यान्न, जुत्ताचप्पल, कापीकलमसहितको १९ बोरा सामान र केही नगद रकम हिरम नेपालीलाई हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्षको जिम्मा लगायौं।

त्यहाँबाट फर्किएर अर्को गाउँ रुकुम पुग्यौं। त्यहाँका सुत्केरी र गर्भवती महिला बालबालिकाहरको लागि केही कपडा र पाौष्टिक खानेकुरा हस्तान्तरण गर्दै एकबोरा औषधी रुकुमका वडाअध्यक्षलाई जिम्मा लगाएर आवश्यकताअनुसार वितरण गर्नु होला भन्दै निस्कियौं। त्यसपछि अर्को गन्तव्य खालचौर तिर सामान टेक्टरमा राखेर गयौं । त्यहाँको ढुवानी अत्यन्तै महंगो रहेछ। त्यही कारण पनि होला त्यहाँसम्म राहत पुगेकै रहेनछ। त्यो कुरा थाहा पाएपछि हामी दुवैजना त्यो ठाउँमा जसरी पनि पुग्ने अठोट गर्‍यौं । विदाको दिन परेर होला हामी जाँदै गर्दा गाउँभरीका बालबालिका र वृद्धवृद्धाहरु हाम्रो वरिपरी घेरा हालिरहेका थिए। उनीहरुको आखाँमा केही पाउने आशाको दियो छर्लङ्ग बलेको देखिन्थ्यो।

हामीले लगेको सामग्रीले उनीहरुको सबै समस्याको हल त हुँदैन थियो, तर उनीहरुको त्यो आशा देख्दा आँखा भरिएर आयो। हाम्रो देशको स्थिति देख्दा मन भारी भयो। यही गाउँघरका जनताले भोट गरेर माथि पठाएकाहरुले मीठा सपना देखाएर चुनाव जितेर चिल्ला बाटो, चिल्ला गाडी, डल्लफ माथि मिठो निद्रामा घुर्दै गर्दा यता गाउँमा साँझबिहान चुलो कसरी बाल्ने भन्ने छ। सामान ढुवानी गर्ने बाटो छैन। बिरामी हुँदा उपचार गराउने राम्रा अस्पताल छैन। कति सुत्केरी आमा र शिशुले ज्यानै गुमाएका छन्। त्यही गाउँको एउटा परिवारमा तीनजना बच्चाहरु अपांगता भएका रहेछन्।

उनीहरुको अहिलेसम्म कुनै रोग पत्ता लागेको रहेनछ। यस्ता समस्या आफ्नै आँखा अगाडी देख्दा सारै पीडाबोध भएको थियो। यी सबै पीडा देख्दै परिवारलाई सान्त्वना दिदै आफैले पोका पारेर लगेको सामान खाद्यान्न, लत्ताकपडा, नुन तेल, कापीकलम त्यहाँ उपस्थित हुनुभएका पीडित परिवारलाई हस्तान्तरण गर्याैं। खुसी हुनका लागि ठूलै काम गर्नुपर्ने रहेनछ। यो सानो सहयोग गर्न पाउँदा मनमा आन्नद आइरहेको थियो। प्रत्यक्ष अवलोकन र त्यहाँको समस्याहरु ६ दिनको बसाइलाई बिटमार्दै त्यहाँ बिताएका दिनहरु मनसपटलमा सजाएर पुनः कर्म थलो फर्कियौं। हाम्रो समाजसेवा भने निरन्तर चलिरहनेछ।