भैरहवा, १० माघ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान अहिले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा ठ्याक्कै मेल खाएको छ । नगरपालिकाले उक्त उखानसँग मेल खाने गरी रमिता सुरु गरेको छ । तीन तहका सरकारमध्येको नजिकको सरकार मानिएको स्थानीय सरकारले मनलाग्दी रुपमा बिदा दिदै काट्दै गर्दा पछिल्लो समय निकै आलोचित समेत बनेको छ ।
गत माघ ७ गते नगरपालिकाको शिक्षा शाखाले माघ १२ गतेसम्मका लागि पालिकाभित्रका सामूदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा जाडो विदा दिएको थियो । ९ गते मंगलबार झल्याक झुलुक घाम देखिएपछि हतारिदै नगरपालिकाले अर्को सूचना जारी गर्दै १० गते बुधबारबाट विद्यालय सुचारु गर्न आदेश दियो ।
आज बिहानैदेखि सिद्धार्थनगर लगायतका स्थानमा अत्याधिक चिसो छ । शितलहर र अत्याधिक कुहिरोका कारण भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाखामा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता दिउँसोसम्म सुचारु हुन सकेको छैन् । दिउँसो मध्यान्नसम्म पनि भैरहवा खुल्न सकेको छैन् । नगरपालिकाले दिएको बिदाको विषयलाई लिएर सामाजिक संजालमा विरोधका आवाजहरु देखिन थालेको छ ।
पत्रकार नरेश केसीले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्–‘सिद्धार्थनगरपालिका शिक्षा शाखाले आज मौसम सफा हुने, शितलहर नहुने, घाम लाग्ने जस्ता मौसमि पुर्व अनुमान गर्दै एउटा विज्ञप्ति निकालेर एकहप्ते विदा कटौति गर्दै स्कुल खोल्ने आदेश दिएको थियो । तर बिहानैदेखि शितलहर झनै बढेको छ । शिक्षाका कर्मचारि मौसमविद भएपछि यस्तै हो । नगरपालिकामा सरकारि गाडि छदैछन, ५ सय मिटरको दुरिमा रहेको विमानस्थलको मौसम शाखा भिजिट गरेर मात्रै मौसमि निर्णय गर्दा ठिक होला । सोझो मेयरलाई चुर्लुम्मै डुबाउने भए !’
त्यस्तै सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षक अब्दुल रहमान खान (खान सर) भैरहवाले नगरपालिकाको सूचनालाई व्यंग्य गर्दै लेखेका छन्– सिद्धार्थनगरवासी सावधान ! टण्टलापुर घाम लागेको हुँदा घर बाहिर निस्किंदा छाता ओढेरै निस्किनुहुन हुन अनुरोध छ ।
सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले मंगलबार घाम लागेको र मौसममा सुधार आएको र विद्यालयका सरहरु आएर विद्यालय खोलौं भनेर आग्रह गरेकाले विद्यालय खोल्ने सूचना हालिएको बताए । उनले भने, ‘पहिला नै बिदा नगर्नुपर्ने हो, बिदा गरिहालियो, बिदा गरेपछि बीचमा स्कूल सुचारु गर्ने सुचना जारी नगरेको हुने, यसबाट हामी आलोचित बन्नुपर्यो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खानले सबैले विद्यालय खोल्नुपर्छ भनेका कारण सूचना निकालिएको बताए ।