२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रुपन्देहीमा सुरु भयो फिल्म एकेडेमी

अब फिल्म पढ्न बाहिर जानु नपर्ने

आइतवार , माघ २५, २०७७

तिलोत्तमा, २५ माघ । 
रुपन्देहीको तिलोत्तमामा ३ युवाको लगानीमा बुटवल फिल्म एकेडेमीको सुरुवात भएको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले गमलामा पानी हालेर सो फिल्म एकेडेमीको शनिबार उद्घाटन गरेका हुन् । 
फिल्म विधामा अध्ययन गर्न काठमाण्डौ, छिमेकी भारत वा विदेश जानपर्ने बाध्यता अब टरेको मन्त्री केसीको भनाइ थियो ।

नेपाली चलचित्रका अभिनेता बिपिन कार्की भस्मेडनको विशिस्ट आतिथ्यतामा सम्पन्न सो उद्घाटन तथा सेमिनार कार्यक्रममा यस क्षेत्रका फिल्म पढ्न इच्छुक विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका संघीय मामिला तथा कानून मन्त्री कुल प्रसाद के.सी.ले बुटवलमा फिल्म एकेडमी बनाउने साहसी योद्धाहरुलाई सलाम भन्दै सो कार्यको सुरुवात गर्ने युवाहरुलाई थप प्रशंसा गरेका थिए । चलचित्र प्रदेश ऐेन क्याबिनेटमा जाने क्रममा रहेको बताउँदै मन्त्री केसीले हिउँदे अधिवेशनमा सो कार्यको सुरुवात गर्ने र एकेडमी संरक्षण गर्ने दायित्वमा सरकार रहने बताए । भारतीय फिल्ममा जस्तै नेपालमा एकेडमी आवश्यक रहेको र लुम्बिनी प्रदेशमा फिल्म पार्क बनाउने गरी माष्टरप्लान बनाएको उनले बताए ।

‘हाम्रो गुरुयोजना नै फिल्मको लागि बन्दै गरेको छ, मौलिकतामा हामी विशेष ख्याल गर्दैछौ, ’उनले भने । सेन्सर नीतिमा समेत विशेष नीति ल्याइने बताउँदै उनले प्रतिबन्धित क्षेत्र बाहिर गएमा फिल्मलाई सेन्सर गरिने बताए  । 

तिलोत्तमाका ३ जना युवा दिपेन कंडेल, अरुण शर्मा र शास्वत पाण्डे संचालक रहेको सो फिल्म एकेडेमीको मणिग्राममा कार्यालय रहने संचालक अरुण शर्माले बताए । विभिन्न ५ विधामा अध्यापन हुने गरी एकेडेमीको सुरुवात गरिएको उनको भनाइ छ । एकेडेमीले स्थापनाको अवसरमा शर्ट मुभी कम्पिटिसन राखिएको छ, जसको अभिनय विधाका बिजेतालाई नगद रु ५० हजार, गायनतर्फ २ लाख बराबरको अडियो भिडियोग्राफीसहित पुरस्कारसंगै आमा बिषयमा टिकटक कम्पिटिसन गराइएको अर्का संचालक दिपेन कंडेलले बताए ।

सो बुटवल फिल्म एकेडेमीको उद्घाटन तथा सेमिनार कार्यक्रममा फिल्म विधाका लेखक शिवशंकर, कलाकार जोडी जीवन भट्टराई र लक्ष्मी बर्देवा, मोडल आस्मा गिरी, मोडल तथा कलाकार आरी रानफ, तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामानाथ पाण्डे, चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठ, नमस्ते नेपाल रुपन्देहीका अध्यक्ष अर्जुन खरेल, अभिनयतर्फ संजोग रसाइली, केदार भुसाल, मनिष निरौला लगायतले बोल्दै फिल्म एकेडेमीको यस क्षेत्रमा जरुरी रहेको र फिल्म पढ्न इच्छुकहरुले अब टाढा जान नपर्ने कुरा बताउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै संचालक अरुण शर्माले तत्काल काम सुरुवातसंगै थर्ड आइ नामक फिल्म बनाउने घोषणा समेत गरेका छन् । त्यस्तै अर्का संचालक दिपेन कंडेलले धेरैको माग र प्रतिक्षालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशलाइ समेट्ने गरी बुटवल केन्द्रित फिल्म एकेडेमीको सुरुवात गरिएको बताए । उनले अब अध्ययनका लागि काठमाण्डौ, पोखरा, दिल्ली मुम्बई र विदेश जान नपर्ने भन्दै सबै सेवा सुविधासहित हरेक विधाको अध्ययन बुटवलमा हुने बताए । संचालक स्वास्वत पाण्डेको स्वागत मन्तव्यबाछ सुरु भएको सो कार्यक्रममा उपस्थित विद्यार्थीहरुले फिल्म सम्बन्धि जिज्ञासा राखेका थिए ।