images

शनिवार, बैशाख २२ गते २०८१

लुम्बिनीका मुख्यमन्त्री र गृहमन्त्रीलाई होटल व्यवसायीको ११ बुँदे ज्ञापनपत्र

लुम्बिनीका मुख्यमन्त्री र गृहमन्त्रीलाई होटल व्यवसायीको ११ बुँदे ज्ञापनपत्र

images
images
images
शुक्रवार, पौष १३ २०८०
शुक्रवार, पौष १३ २०८०
  • लुम्बिनीका मुख्यमन्त्री र गृहमन्त्रीलाई होटल व्यवसायीको ११ बुँदे ज्ञापनपत्र

    बुटवल, १३ पुस । 
    ठूला होटल र पर्यटन व्यवसायीले भोग्नुपरेका समस्या समाधानको माग गर्दै नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीले प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । 

    images
    images
    images

    कोरोना महामारी यता विभिन्न कारणले अर्थतन्त्रमा देखिएको समस्याले होटल र पर्यटन व्यवसाय संकटमा परेको भन्दै एशोसिएसनले होटल व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने लगायत माग राख्दै मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र गृहमन्त्री तथा सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयलाई ज्ञापनपत्र बुझाएको हो । 

    युरोपियन युनियनले नेपाली आकाशलाई हवाई उडानको कालोसूचीमा राखेकाले विदेशी पर्यटकमा नकारात्मक असर परेकाले त्यसलाई तत्काल हटाउन पहल गर्न पनि एशोसिएसनले माग गरेको छ । 

    आन्तरिक र भारतीय पर्यटकलाई यात्रा गराउने गाडीमा पनि भन्सार छुट दिन, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा यथाशीघ सञ्चालन गर्न पनि एशोसिएसनले माग गरेको छ । 

    हवाई टिकटदर नेपाली सरह हुनुपर्ने, एशोसिएसनले भारतसँग सीमा जोडिएका भन्सार नाका र अध्यागमन कार्यालयहरु परम्परागत, अव्यवस्थित भएकाले पर्यटकले झन्झट र सास्ती व्यहोर्नुपरेकाले ती कार्यालयहरुलाई आधुनिक सुविधायुक्त र पर्यटकमैत्री बनाउन माग गरेको छ ।  

    भारतीय र विदेशी पर्यटकलाई निश्चित रकम मात्र ल्याउन पाउने प्रावधानले नेपालको पर्यटन व्यवसाय फस्टाउन र विदेशी मुद्रा आर्जन गर्न नसकेकाले पर्यटकले चाहे जति रकम ल्याउन दिने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ । 

    भारतीय पर्यटकका सवारीसाधनलाई सीमाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने व्यवस्थालाई संशोधन गरी कम्तीमा चुरेको फेंदीसम्म आउन दिनुपर्ने र सडकमा प्रहरीबाट अनावश्यक चेकजाँच नगरी सम्मानजनक व्यवहार गर्ने  व्यवस्था मिलाउन माग गरिएको छ । 

    विदेशी पर्यटक बस जस्तै आन्तरिक र भारतीय पर्यटकलाई यात्रा गराउने पर्यटक गाडी खरिदमा भन्सार सहुलियत सुविधा दिन, बुटवल–नारायणगढ सडक निर्माणमा भएको चरम ढिलासुस्तीले रुपन्देही र आसपासका जिल्लाको होटल व्यवसायमा झण्डै ५० प्रतिशत गिरावट आएकाले यो सडक यथाशीघ्र पूरा गर्न,.पर्यटकको बसाई लम्ब्याउन बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर लुम्बिनी र छिमेकी प्रदेशका मुख्य पर्यटकीय गन्तव्यमा कनेक्टिभिटी सहज बनाउन र बजारीकरणमा सहयोग गर्न पनि एशोसिएसनले माग गरेको छ । 

    त्यस्तै नेपालको पर्यटनको मुख्य बजार भारतको उत्तर प्रदेश, उत्तराखण्ड, बिहार लगायतका प्रदेश भएकाले त्यहाँका पर्यटक भित्राउन बजारीकरणका लागि बजेट उपलब्ध गराउन, प्रदेशका मुख्य पर्यटकीय स्थलबारे ठाउँठाउँमा पर्यटन सूचना केन्द्र स्थापना गर्न, होटलमा कार्यरत कर्मचारी र कामदारको क्षमता वृद्धिका लागि एड्भान्स टुरिज्म तालिम र भारतीय तथा विदेशी पर्यटकलाई नेपालका पर्यटकीय क्षेत्रमा आकर्षित गर्न टुर गाइड तालिमको माग गरिएको छ । त्यस्तै रात्रिकालीन व्यवसाय सञ्चालनको नीतिगत व्यवस्था गरिदिन पनि एशोसिएसनको माग छ ।  

    ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री चौधरीले व्यवसायीका माग समयसापेक्ष र जायज रहेको भन्दै आफूले प्रदेश र संघीय सरकारबाट समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका छन् । उनले आयात व्यापार भन्दा पर्यटन र कृषिबाट देशलाई आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न सकिने बताए । 

    गृहमन्त्री पाण्डेयले विभिन्न कारणले समस्यामा परेका व्यवसायीलाई विशेष राहत प्याकेज ल्याउनु र व्यवसायीमैत्री वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताए । 

    एशोसिएसनका अध्यक्ष प्रविण बहादुर पाठकले तीनै तहका सरकारले नेपालको समृद्धिकको एउटा मुख्य आधार पर्यटन हो भन्दै आएपनि खरबौं लगानी र हजारौंलाई रोजगारी दिएको होटेल व्यवसायलाई उद्योगको मान्यता नदिंदा विद्युत महसुल र भन्सारमा छुट पाउन नसक्दा व्यवसायीले राहत महसुस गर्न नसकेको गुनासो गरे । 
    एशोसिएसनका उपाध्यक्ष दिलिप गौचनले भारतीय पर्यटकलाई सरकारले प्राथमिकता दिन र सम्मान गर्न नसकेको औंल्याए ।  

    ज्ञापनपत्र बुझाउने कार्यक्रममा एशोसिसनका सल्लाहकार महेन्द्रनारायण श्रेष्ठ,महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी, कार्यसमिति सदस्यहरु टेकनाथ बस्याल, लक्ष्मण भण्डारी लगायतले समस्या समाधान नभए विभागीय मन्त्रालय र सम्बन्धित कार्यालयहरुमा अनिश्चितकालीन धर्ना बस्नुपर्ने बताए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij