
बिहिवार , पौष १२, २०८०
भैरहवा, १२ पुस ।
रुपन्देही प्रहरीले मोटरसाइकल चोरी नियन्त्रण तथा न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन गरेको छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ चोरीका मोटरसाइकल किनेर चलाउने गरेको पाइएपछि नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको हो । रुपन्देही प्रहरीले पुस १ देखि हालसम्म (११ दिनको अवधिमा) २३ वटा मोटरसाइकल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी बरामद मोटरसाइकल र चोरी तथा लागूऔषध कारोबार एवं ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले मोटसाइकल चोरीमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो ।
रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले चोरीका मोटरसाइकल नियन्त्रणका लागि शंकाष्पद व्यक्तिको घरमै पुग्ने बताए । उनले चोरीको मोटरसाइकल चेकजाँचमा मात्र नभइ सूचनाको आधारमा चोरी भएका मोटसाइकल राखिएको घरमा पुगेर मोटरसाइकल र व्यक्ति नियन्त्रणमा लिइने बताए । उनले भने, जिल्लामा कमजोर तथा बलियो आर्थिक हैसियत भएका परिवारका युवा समेत चोरीका मोटरसाइकल चढ्ने गरेको पाइएको छ ।’ उनका अनुसार विशेष गरी युवा वर्गले चोरीका मोटरसाइकल १० देखि २० हजारसम्ममा किनेर चढ्ने गरेको पाइएको छ ।
उनले भने, ‘चोरीको सामान किन्ने पनि पक्राउ पर्छन । अपराधको परिभाषाले के भन्छ भने उद्योग गर्ने, प्रोत्साहन गर्ने र मतियार बन्ने सबै पर्छन् ।’ सवारीसाधनका कागजात हेरेर मात्र खरिद गर्न उनले आग्रह गरे ।
प्रहरीले जिल्लामा हुन सक्ने चोरी, डकैती, लुटपाटका घटना, लागूऔषध दुव्र्यसन नियन्त्रण तथा न्यूनीकरण र फैसला कार्यान्वयन क्रममा फरार प्रतिवादी पक्राउका लागि गत पुस १ गतेदेखि ‘क्लिन स्वीप अपरेशन’ सञ्चालन गरिएको एसपी वि.क.ले जानकारी दिए ।
यसअवधिमा रोयल इनफिल्ड २, बजाज पल्सर १५० १, हिरो स्पेलेन्डर प्लेस ६, बजाज पल्सर २२० ३, यामाहा एफजेड १ गरी विभिन्न ब्राण्ड र मोडलका २३ वटा मोटरसाइकल बरामद गरिएको उनले बताए । त्यस्तै प्रहरीले २ वटा कार बरामद गरेको छ । यसअवधिमा २४ सैं घण्टा प्रहरी परिचालन गरेर अपराध नियन्त्रणको काम भइरहेको उनले बताए ।
यसका साथै लागूऔषधतर्फ ७ वटा र मोटरसाइकल चोरीतर्फ ४ वटा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । लागूऔषधको कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
एसपी विकका अनुसार यस अवधिमा अदालतको फैसला कार्यान्वयनका क्रममा १०२ जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरुलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट १९ वर्ष ११ महिना १७ दिन कैद भुक्तान र १२ लाख ८२ हजार ७ सय ११ रुपैयाँ जरिवाना असुलउपर हुने प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij