२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

लुम्बिनी प्रदेशस्तरीय साँस्कृतिक तथा सडक खाना महोत्सव हुँदै

बुधवार , पौष ११, २०८०

  • 862
    Shares
  • 862
    Shares
  • भैरहवा, ११ पुस ।
    अंग्रेजी नयाँ वर्ष–२०२४ को अवसरमा लुम्बिनी प्रदेशस्तरीय साँस्कृतिक तथा दशौं सडक खाना महोत्सव (फूड फेष्टिभल) –२०८० हुने भएको छ । लुम्बिनी होटल संघ, नेपाल (लान) को आयोजनामा ३१ डिसेम्बर (पुस १५) को दिन बुद्ध जन्मस्थल लुम्बिनीमा महोत्सव हुने भएको हो । आयोजकले बुधबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएका छन् ।

    स्थानीय खानपिनका परिकारहरूका साथै लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय बिहारहरूको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका लगायत देशका परिकारहरू महोत्सवमा उपलब्ध गराइने प्रयासमा रहेको आयोजकले जनाएका छन् ।

    यस वर्षदेखि महोत्सवलाई प्रदेशस्तरीय महोत्सवको रुपमा मनाउन लागिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

    महोत्सवमा स्थानीय थारु समुदाय, मुस्लिम समुदाय, पश्चिमी तराईका ब्राह्मण समुदाय, नेवारी समुदाय, गुरुङ, मगर समुदाय लगायतका खानपिनका साथै पाल्पाको झिनिया रोटी, बटुक, हाँसको छोइला, यस क्षेत्रकै पहिचान बनेको चुकौनी, नामी मिठाइ इम्रिति (अमृति) लगायतका परिकार उपलब्ध रहने ज्ञवालीले जानकारी दिए । हालसम्म ६० वटा स्टलधनी सम्पर्कमा आइसकेको उनले बताए । महोत्सव सञ्चालन गर्न १२ लाख अनुमानित खर्च लाग्ने उनले जानकारी दिए ।

    महोत्सवमा नौमती, पञ्चेबाजा, बिरहा, थारु झुमराका साथै आधुनिक पप ÷डिजे गीत–संगीतको माध्यमबाट मनोरञ्जन उपलब्ध गराइने संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले जानकारी दिए । यस वर्ष महोत्सवलाई पृथक र विगत भन्दा विशेष बनाउने प्रयास रहेको उनले बताए ।

    लुम्बिनी होटल संघ, लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष तथा लुम्बिनी पर्यटन विकास परिषद महोत्सवको आयोजक रहेको उनले बताए ।

    महोत्सवलाई लक्षित गरी लुम्बिनी होटल संघले पुस १५ गते संघका सदस्यहरु रहेका होटलको कोठामा १५ प्रतिशत छुट उपलब्ध गराउने संघका महासचिव पुरुषोत्तम अर्यालले जानकारी दिए ।

    महोत्सवमा भारतबाट २० हजार बढी पर्यटक आउने आयोजकको अपेक्षा छ । महोत्सव लक्षित यहाँको सुरक्षा व्यवस्थापनका लागि पनि समन्वय भइरहेको आयोजकले जनाएको छ ।

    लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले पर्यटक भित्र्याउने सडक खाना महोत्सवको मुख्य लक्ष्य रहेको बताए । उनले महोत्सवलाई नगरपालिकाकोतर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले भने, ‘पछिल्लो समय महोत्सवमा सहभागीता बढिरहेको छ ।’