२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो, पूर्व अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने

बिहिवार , पौष ५, २०८०

बुटवल, ५ पुस ।

रुपन्देही व्यापार संघको आयोजनामा बिहीवार (आज) देखि बुटवलमा लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुँदैछ । बुटवल मण्डपमा निर्माणाधिन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने कार्यक्रममा एक्स्पोको रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य, नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पो पुस ५ गतेदेखि सुरु भइ १८ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पो आयोजनास्थल बुटवल मण्डप सजाइएको छ । आयोजना हुने व्यापार मेलाको तयारी पूरा भएको आयोजक संस्था रुपन्देही व्यापार संघले जनाएको छ । कृषिको व्यवसायीकरण तथा आधुनिकरण, स्थानीय साना तथा घरेलु व्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा सञ्चार, शैक्षिक, सेवामूलक, वैकल्पिक उर्जा र स्वदेशी उत्पादनका व्यवसायलाई प्राथमिकतामा राखिएको संघका अध्यक्ष तथा व्यापार मेला मुल आयोजक समतिका संयोजक कृष्णप्रसाद घिमिरेले बताए ।

लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा ६ सय स्टल निर्माण गरिएको छ । जसमा होटल तथा रेष्टुरेण्ट सटल २३, उनी, गार्मेन्ट तथा तयारी पोशाक १४१, अन्तर्राष्ट्रिय स्टल १०, कृषि ४३, ब्याग÷जुत्ताचप्पल ६८, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका स्टल ७८, श्रृंगार, उपहार तथा खेलौनाका स्टल ५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान ५३, बैंक/वित्तीय संस्था एवं शैक्षिक संस्था १८, अटोमोबाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस ६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स १६, आइसक्रिम तथा वेकरीज १८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस ८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादन ६६ वटा स्टल रहने छन् । कृषि, महिला उद्यमी एंव सामाजिक संघ–संस्थाहरुलाई निःशुल्क रुपमा केही स्टल उपलब्ध गराइएको छ ।

व्यापार मेला उद्घाटनको पूर्व सन्ध्यामा मेला स्थल बुटवल मण्डपबाट विभिन्न जातजाति, धर्म, समुदायको लोक संस्कृति झल्किने खालका झाँकीसहित जनचेतनामूलक र्यालीको आयोजना गरिनेछ ।

बुटवल मण्डपबाट सुरु हुने झाँकी बजार परिक्रमा पछि पुनः मण्डपमा पुगेर समापन हुनेछ । दर्शकलाई आकर्षण र मनोरञ्जनका लागि दैनिक रुपमा साँस्कृतिक कार्यक्रम गरिने र कार्यक्रममा राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएका छन् ।

त्यस्तै डान्स आइडल प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, विद्यालयस्तरीय वादविवाद प्रतियोगिता, र्याप गीत प्रतियोगिता र भजन प्रतियोगिता आयोजना गरिने छ ।

उक्त व्यापार मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।