२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

नागरिक दबाब समूह गठन

आइतवार , मंसिर २४, २०८०

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • बुटवल, २४ मंसिर । 
    लोकतन्त्रको संरक्षण, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकार असफल भएको भन्दै बुटवलका बुद्धिजीवी तथा समाजसेवीहरुले सुशासनका लागि नागरिक दबाब समूह गठन गरेका छन् । पछिल्लो समय नेपाल सरकारका गतिविधि, कामकारवाही र अदुरदर्शी निर्णयहरुका कारण लोकतन्त्र विरोधी गतिविधिहरु मौलाएको भन्दै नागरिक समाजका अगुवाहरुले मानवअधिकारको अवस्था दयनीय र राज्य व्यवस्था उदासिन रहेको बताएका छन् । नेपालमा राजनैतिक दलको विकल्प नरहेको तर नेताहरु सच्चिनुको पनि विकल्प नरहेको कुरामा सहभागिहरुको जोड रहेको थियो । 

    अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राजनैतिक स्थिरता, मुलुकको समृद्धि र सुशासनको नारा दिएर नथाक्ने प्रमुख राजनैतिक दल र नेताहरुका कारण मुलुकमा लोकतन्त्रमाथि धावा बोल्ने तत्वहरुको उत्पत्ति भएको टिप्पणी गरेका छन् । 

    मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रिय सभापति गोबिन्द खनालले नेपालको परिपेक्षमा वर्तमान लोकतान्त्रिक व्यवस्थाको विकल्प नरहेको चर्चा गर्दै यसलाई समुन्नत बनाउन प्रमुख राजनैतिक दल र नेतृत्व पंक्ति सच्चिनुपर्नेमा जोड दिए । लोकतन्त्रको सबलीकरणका लागि नागरिक आन्दोलन जरुरी रहेको ठहर गर्दै रुपन्देहीबाट नागरिक दवाव अभियान सुरुवात भएको उनले बताए । 

    वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले नेपालमा लोकतन्त्र विरोधी गतिविधिहरु बढ्नुका प्रमुख राजनैतिक दलहरु नै दोषी रहेको उल्लेख गर्दै राजनैतिक दल दिशाहिन भएकोले नागरिक समाजले खबरदारी गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।

    अधिवक्ता महेन्द्र पाण्डेले प्रमुख दलका कार्यशैली, मुलुकमा उत्पन्न आर्थिक संकटका कारण जनतामा निराशा उत्पन्न भएको चर्चा गर्दै दलहरुलाई सच्चिएर अघि बढ्नका लागि नागरिक समाजबाट दबाब र खबरदारी आवश्यक रहेकोमा जोड दिए ।

    उद्योगी–व्यवसायी नेता डम्बरदेव अर्यालले आर्थिक सबलीकरण र समृद्धिको यात्राका सवालमा राज्य पक्ष उदासिन हुँदा उद्योग–व्यवसाय क्षेत्र धरासायी बनेको उल्लेख गरे । उनले बेरोजगारी र आर्थिक संकटको प्रत्यक्ष असर जनतामा परेको बताए । 

    पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले युवाहरु पलायन हुनबाट रोक्न सरकारले दिर्घकालीन योजना गर्न आवश्यक रहेको कुरामा जोड दिदै उपयुक्त नीति निर्माण गर्न सरकार समक्ष आग्रह गरे ।

    कार्यक्रममा प्राध्यापक लिलबहादुर केसी, प्रगतिशिल लेखक ऋषि आजाद, उपभोक्ता हित संरक्षण मन्च बुटवलका अध्यक्ष समुन्द्र जीसी, घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल, नागरिक समाजका बिनबहादुर कुंवर, गणेश घिमिरे, ईश्वरी प्रसाद पाण्डेलगायत अधिवक्ता, पत्रकार, लेखक, अधिकारकर्मीहरुले लोकतन्त्रको सबलीकरणका लागि नागरिक आन्दोलनको आवश्यकता रहेको र यसको सुरुवात रुपन्देहीबाट गरिएको चर्चा गरेका थिए । सो भेलाले गोविन्द खनाल संयोजक र ऋषि आजाद सचिव रहेको नागरिक दबाब समूह गठन गरिएको छ ।