
शनिवार , मंसिर २३, २०८०
भैरहवा, २३ मंसिर ।
बुद्ध जन्मस्थल लुम्बिनीमा भएको निःशुल्क आँखा शिविरबाट ३ हजार ७ सय ५५ जना सर्वसाधारणले लाभान्वित छन् । राजकीय थाई विहार लुम्बिनीको आयोजनामा थाईल्याण्ड र नेपालका आँखा रोग विशेषज्ञहरुको उपस्थितिमा भएको शिविरबाट रुपन्देहीको लुम्बिनी, कपिलवस्तु र रामग्रामका स्थानीयहरुले लाभ लिएका हुन् ।
मंसिर १८ देखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा चेकजाँच गराएकामध्ये ९०९ जना मोतियाविन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको राजकीय थाई विहारले जनाएको छ ।
विहारका प्रमुख भिक्षु सुफोतले लुम्बिनी वरपरका मानिसहरुलाई सेवा दिने उदेश्यले १४ औं संस्करणका रुपमा निःशुल्क आँखा शिविर गरिएको बताए । तिलगंगा आँखा अस्पताल काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रोईत, थाइल्याण्डका नेत्ररोग विशेषज्ञ अनुचित पोनाथ्याङ, डा. नवत वातानाची, डडा स्वात कौशाकुल, सहितको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा शिविरको उपचारमा खटिएका हुन ।
थाइल्याण्डका राजा भूमिबोल अदुलयादेजको स्मृतीमा निशुल्क आँखा शिविर गरिएको हो । राजकीय थाई विहार लुम्बिनी, तिलगंगा आँखा अस्पताल काठमाडौं, थाई राजदुतावास काठमाडौंको समेतको आयोजनामा बुद्ध जन्मस्थलमा निःशुल्क आँखा शिविर गरिएको हो ।
लुम्बिनीमा विगतदेखि नै तिलगंगा आँखा अस्पतालले राजकीय थाई विहार लुम्बिनीसँग समन्वय र सहकार्य गर्दै आँखा शिविर गर्दै आएको अस्पतालका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाले जानकारी दिए । उनले बुद्ध जन्मस्थल वरपरका सर्वसाधारणहरु स्वास्थ्य पहुँचबाट टाढा रहेकाले निःशुल्क आँखा शिविर गर्ने गरिएको बताए । सर्वसाधारणमा आँखाका सम्बन्धमा हेलचेक्र्याईँ र आर्थिक अवस्था समेत कमजोर हुने भएकाले आँखा शिविर गर्ने गरिएको थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोतले बताए ।
विहारले बुद्ध र यससँग जोडिएका क्षेत्रका नागरिकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने क्षेत्रमा सक्दो सामाजिक कार्य गर्दै आएको छ । यसअघि विहारले आधुनिक प्रविधिबाट घुँडा प्रत्यारोपण, भूकम्पप्रभावितहरुलाई सहयोग जस्ता सामाजिक कार्य गर्दै आएको छ ।
४४० सय जनाको निशुल्क दन्त उपचार
त्यस्तै राजकीय थाई विहार लुम्बिनीकै आयोजनामा निःशुल्क दन्त शिविर पनि सञ्चालन भएको छ । १८ गतेदेखि २२ गतेसम्मका लागि आयोजित दन्त शिविरमा ४४० जनाले निःशुल्क उपचार गराएका छन् ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) भैरहवा, थाई राजदुतावास काठमाडौं र लुम्बिनी स्वर्णभूमि फाउण्डेशनसँगको सहकार्यमा दन्त शिविर गरिएको हो । निःशुल्क दन्त शिविरमा दाँतको सफाई र उपचारहरु गरिएको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका डा. सुभास कुमारले जानकारी दिए ।
थाइल्याण्डका दन्तरोग विशेषज्ञ डा. मोन्थन नेतृत्वको ४ स्वास्थ्यकर्मी र मेडिकल कलेजका डा. दीपक यादव, डा. उपासना त्यागी र सुबोध कुमारसहित १० जना स्वास्थ्यकर्मीहरु दन्त शिविरमा खटिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij