२०८२, पौष १४ गते

Dec 29 2025 | २०८२, पौष १४ गते

छोरीमाथि हुने विभेद अन्त्य हुन सकेको छैन : प्रदेश सांसद बनिया

शनिवार , मंसिर २३, २०८०

  • 991
    Shares
  • 991
    Shares
  • भैरहवा, २३ मंसिर ।
    लुम्बिनी प्रदेशका सांसद कन्हैया बनियाले समाजमा छोरीमाथि गरिने विभेदको अन्त्य हुन नसकेको बताएका छन् । उनले परापुर्वकालदेखि नै छोरीचेलीलाई घरको काममा केन्द्रित गराउन खोज्नुले किशोरी तथा महिला पछि परिरहेको बताए । 

    लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शनिबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–३, पडरियामा ‘बृहत् र्‍याली तथा जनचेतनामूलक कार्यक्रम’ पश्चात् आयोजित कार्यक्रममा सांसद बनियाले यस्तो बताएका हुन् । उनले यसबाट माथि उठेर त्यस क्षेत्रका किशोरीको शैक्षिक तथा स्वास्थ्य विकासका कार्यक्रम ल्याउन आफू लागिपर्ने बताए ।

    ‘म मधेशमा जन्मिएको मानिस, मैले हरेक दिन किशोरीले भोगिरहेका अप्ठ्यारा देखेको छु । अब पनि यस्तै स्थिति रहने हो यस क्षेत्रका किशोरी धेरै पछि पर्नेछन् ।’ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) संसदीय दल लुम्बिनी प्रदेशका उपनेता समेत रहेका बनियाले शिक्षा, स्वास्थ्यलगायत सामाजिक कार्यमा मधेशका छोरीको सहभागीता न्यून रहेकाले सो संख्या बढाउन परिवार, स्थानीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । 

    कार्यक्रममा उपस्थित किशोरीले समाज किशोरीमैत्री नभएको गुनासो गरेका थिए । उनीहरूले अझै पनि हिंसा, बालविवाह र दाइजो प्रथाको सिकार भएको बताए । 

    कार्यक्रममा उनीहरूले सरोकारवालासँग आफूहरुमाथि अझै विभेद किन ? घरमा, आफन्तीमा, पढाइमा र समाजमा भेदभाव किन ? जस्ता प्रश्न राखेका थिए । साथै आफूले भोगेका पीडालाई नाटक, गीत र गजलमार्फत प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा १ हजारभन्दा बढी किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो । लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोगमा सुनगाभा सामुदायिक विकास केन्द्र र लुम्बिनीका वडा नम्बर १, २, ३, ४, ७, १०, ११ र १२ मा सञ्चालित ३२ वटा संवाद केन्द्रले नगरपालिकाका विभिन्न ठाउँबाट र्‍यालीसमेत निकालेका थिए ।