
मंगलवार , मंसिर १९, २०८०
भैरहवा, १९ मंसिर ।
भारतबाट अवैध आयात बढेको भन्दै पशु क्वारेन्टाइन कार्यालयले रुपन्देहीमा सुरक्षा निकाय र व्यवसायीहरुलाई सचेतना कार्यक्रम सञ्चालन गरेको छ । पशु क्वारेन्टाइन कार्यालयले साउन यता मात्र कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीबाट ७ लाख ४५ हजार एक सय १० केजी जिउँदो कुखुराको मासु नियन्त्रणमा लिएर नष्ट गरेको छ । त्यस्तै कुखुराको चल्ला ४७ हजार २० गोटा, २ हजार ८ सय ९५ केजी माछा र अण्डा ८ सय ७० गोटा नष्ट गरेको तथ्यांक छ ।
पछिल्लो समय नेपालको उत्पादन भनी नक्कली कागजपत्र मिलाएर तस्करी गर्ने क्रम बढेपछि कार्यालयले क्वारेन्टाइन सम्बन्धी सचेतना दिएको पशु चिकित्सक सन्तोष यादवले जानकारी दिए । पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ तथा नियमावली २०५६ लाई कार्यान्वयनमा ल्याउन सीमामा तैनाथ सुरक्षाकर्मीलाई बुझाउन आवश्यक परेको यादवले बताए ।
भारतबाट स्वास्थ्य प्रमाणपत्र जारी गरिएका पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थ मात्र नेपाल भित्रिन पाउने व्यवस्था छ । बर्ड फ्लु नियन्त्रण आदेश २०६४ लागू भएपछि भने कुखुरा र कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध छ । पशु क्वारेन्टाइन कार्यविधि, पशु ढुवानी मापदण्ड, पशु कल्याण निदेशिका, बर्ड फ्लु रोग नियन्त्रण आदेश, मासु तथा मासुका परिकार आयात/निर्यात मापदण्डबारे सुरक्षाकर्मी र व्यवसायीहरुलाई प्रशिक्षण दिइएको पशु क्वारेन्टाइन कार्यालय रुपन्देहीका प्रमुख डा. भक्त न्यूरेले जानकारी दिए । दण्ड, जरिवाना र सजायबारे प्रष्ट भएपछि कानूनी कारवाही गर्न सहज हुने सुरक्षा अधिकारीहरुले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij