२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीमा लागूऔषध दुर्ब्यसनसम्बन्धी सडक नाटक सुरु

आइतवार , मंसिर १७, २०८०

भैरहवा, १७ मंसिर ।
युवायुवतीहरुलाई कुलतमा फस्न नदिन रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले विशेष अभियान थालेको छ । लुम्बिनीमा पछिल्लो समय युवायुवतीहरु बढी लागूऔषध सेवन गर्ने गरेकाले नगरपालिकाले लागुऔषध दुव्र्यसनी सम्बन्धी सडक नाटक आइतबारदेखि सुरु गरेको हो ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९ को खुदावगर माध्यमिक विद्यालय, वडा नम्बर ७ को कर्महवा मावि, वडा नम्बर ६ को पर्साचोकमा सडक नाटक गरिएको आयोजकले जनाएको छ । अवध थिएटर रुपन्देहीको प्रस्तुतिमा भएको सडक नाटक कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थीहरु एवं सर्वसाधारणको सहभागीता रहेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलनमानले स्कूले विद्यार्थीहरु, युवायुवतीहरु बढी कुलतमा लागेको समाचार आएकाले यसको रोकथाम र नियन्त्रणका लागी प्रयास थालिएको बताए ।

लागूऔषधले मानवीय क्षतिसँगै समाजमा विकृति फैलाउने भएकाले यसको नियन्त्रणका लागि सम्बन्धित सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्ने उनले उल्लेख गरे । आगामी दिनमा समेत यस्ता सचतेनामूलक कार्यक्रमले निरन्तरता पाउने उनको भनाइ छ ।

कार्यक्रममा बालबालिका भोलीका कर्णधार भएकाले हेरचाह र नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नगर उपप्रमुख कल्पना हरिजनले बताइन् । अभिभावकले आफना सन्तानहरुलाई बढी हेरचाह गर्नुपर्ने बताउँदै नगरपालिकाबाट कुलतमा लाग्न लागेका, फसेकाका लागी लक्षित सचेतनामूलक कार्यक्रम गरेको औल्याइन् ।

नगरपालिकाका सल्लाहकार मोहम्मद सईद खाँले लागूऔषध दुव्र्यसनीले व्यक्तिलाई मात्र नभइ समाजमा नै असर पुर्याउने भएकाले भएकाले यसको नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए ।

कार्यक्रममा नगरपालिकाका न्यायीक समिति सदस्य तथा लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले समाजमा हुने विकृति धेरैजसो लागुऔषध सेवनले हुने बताए । उनले विद्यार्थीहरु तथा युवाहरु बढी कुलतमा लागेकोले कुलतबाट बचाउन लुम्बिनीका विभिन्न ठाउँमा सडक नाटक गरिने बताए ।

02.jpg

कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो । लागूऔषध दुव्र्यसनी सम्बन्धी सडक नाटक आगामी मंसिर ३० गतेसम्म लुम्बिनीका विभिन्न ठाउँमा सञ्चालन हुने बताइएको छ ।