२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

सियारीमा बेरोजगार युवायुवती प्रधानमन्त्री रोजगार कार्यक्रममा सक्रिय

आइतवार , मंसिर १७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १९ मंसिर । 
    रुपन्देहीको सियारी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका व्यक्तिलाई सुन्दरीकरण र हरियाली प्रवद्र्धन कार्यक्रममा लगाएको छ । गाउँमै बसेर सरकारले तोकेको पारिश्रमिक पाउने गरी काम गर्न पाएपछि बेरोजगार युवायुवती खुसीले दंग छन् ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पालिकाले बेरोजगार युवायुवतीलाई सियारी गाउँपालिकाभित्रका सार्वजनिक स्थल तथ सामूदायिक विद्यालयमा सुन्दरीकरण तथा हरियाली प्रवद्र्धनमा खटाएको छ ।  

    पहिलो चरणमा सियारी गाउँपालिकाले तीनवटा सामूदायिक विद्यालय र सार्वजनिक स्थलमा सुन्दरीकरणमा काम सुरु गरेको छ । गाउँपालिकाको रोजगार सेवा केन्द्र मार्फत सूचीकृत बेरोजगार युवाहरुले विभिन्न स्थानमा काम गरेका छन् ।

    सियारीमा सूचीकृत बेरोजगार युवायुवतीले हरित विद्यालय कार्यक्रम कार्यान्वयन सहजीकरण तथा भवन संरचना व्यवस्थापन अन्तरगत विद्यालय सुन्दरीकरणमा काम गरिरहेका छन् । त्यसका साथै उनीहरुले बेथरी–बेलवास सडकखण्डको सियारी क्षेत्रमा सुन्दरीकरण गर्ने कार्यमा जुटेका छन् ।

    siyari rojgaarr 1.jpg

    सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारी सुन्दर पालिकाको रुपमा विकास गर्नका लागि सूचीकृत बेरोजगार युवायुवतीलाई सुन्दीकरण अभियानमा लगाइएको बताए । उनले पालिकाको रोजगार सेवा केन्द्रमार्फत सियारीमा काम गरिरहेको सूचीकृत वेरोजगार व्यक्तिहरुको अनुगमन तथा निगरानी हुने गरेको बताए ।

    रोजगार सेवा केन्द्रमार्फत सूचीकृत बेरोजगारमध्ये ६० प्रतिशत युवती र ४० प्रतिशत युवाले काम गरिरहेका छन् ।
    प्रधानमन्त्री रोजगार कार्यक्रमका कारण केही मात्रामा भए पनि बेरोजगारीको समस्या हटेको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिइन् ।

    सियारीमा २५१ जना व्यक्ति बेरोजगारको रुपमा सूचीकृत भएका थिए । त्यसमध्ये यस वर्ष काम गर्नका लागि ५९ जना व्यक्ति छनौट भइ काम गरिरहेका छन् ।

    सियारीले १६ वटा सामूदायिक विद्यालय छनौट गरी सुन्दरीकरणको काम गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गर्न पाएपछि बेरोजगार युवायुवती पनि खुसी देखिएका छन् । काम गर्न पाएपछि घर खर्च चलाउने देखि बालबच्चा बढाउन सम्म सहज भएको उनीहरुको भनाइ छ ।

    रोजगारका लागि युवायुवती विदेशिने क्रम बढिरहेका बेला प्रधानमन्त्री रोजगार कार्यक्रमले केही हदसम्म भए पनि युवायुवतीलाई विदेश जानबाट रोकेको रोजगार सेवा केन्द्रका रोजगार संयोजक सिर्जना भुसालले जानकारी दिइन् । यस्ता खालका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिने र पालिकाको समन्वयमा बढी भन्दा बढी बेरोजगार युवायुवतीलाई जोड्दै लैजाने योजना रहेको रोजगार संयोजक भुसालको भनाइ छ ।