
शनिवार , मंसिर १६, २०८०
भैरहवा, १६ मंसिर ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा शनिबार बिहान बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । मदरसामा बहिनी र भदैनीलाई मोटरसाइकलमा पुर्याउन गएका स्थानीय मोहम्मद इसादलाई विद्यालय बसले ठक्कर दिँदा उनीसहित बहिनीले घटनास्थलमै ज्यान गुमाएका छन् । ठक्करबाट उनकी भदैनी गम्भीर घाइते अवस्थामा उपचार भइरहेको छ ।
शनिबार बिहान करिब ९ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका–४ महुबारीस्थित लुम्बिनी–ककरहवा सडकखण्डमा दुर्घटना भएको हो ।
लुम्बिनीबाट कालीदहतर्फ जाँदै गएको लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई लु १ क १७७८ नम्बरको सिद्धार्थ बोर्डिङ स्कुल, सुर्यपुराको बसले पछाडिबाट ठक्कर दिँदा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर–४ का २१ वर्षिय महम्मद इसाद र १६ वर्षिय रूपसना खातुनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमै सवार १२ वर्षकै अप्सना खातुन घाइते भएकी छन् । घाइते अप्सनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । घाइते खातुनको अवस्था गम्भीर छ ।
स्थानीय वीरेन्द्र मिश्रका अनुसार परिवारमा मिहिनेती इसादको अकल्पनीय निधनले परिवारमा मात्रै होइन त्यो गाउँ नै शोकमा डुबेको छ । बहिनी रूपसना र अप्सरा (भदैनी) लाई मदरसा लैजाँदै गरेको समयमा मदरसा नपुग्दै दाजुबहिनीको दुर्घटनामा मृत्यु भएको हो । भदैनी गम्भीर घाइते छन् । मोटरसाइकलमा तीनजना सवार थिए । दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विनोद कुमार श्रीवास्तवले मदरसा जाने क्रममा गाडीले ठक्कर दिएको बताए ।
‘वडा नम्बर ४ अमारी गाउँका छेदी मुसलमानका इसाद र रुपसना छोराछोरी हुन्, लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालीदहस्थित बहिनी र भदैनी (दाइको छोरी) लाई मदरसा छोड्न जाँदै थिए । बाटोमा गाडीको ठक्करबाट इसाद र रुपसनमा मृत्यु भयो । नातिनी घाइते छन्’ वडाअध्यक्ष श्रीवास्तवले भने ।
स्थानीयका अनुसार शनिबार स्कुल बस केही स्थानीयलाई लिएर तीर्थयात्रामा जाँदै थियो तर बस चालक फरार रहेको र व्यवस्थापन समितिका व्यक्तिहरू पनि सम्पर्कमा नआएकाले समस्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले घटनाको छानबीन गर्ने स्थानीयसँगको सहमतिपछि शव पोष्टमार्टमका लागि भैरहवा ल्याइएको जनाए । उनले स्थानीयले आफूहरूलाई त्यो बस केही स्थानीयलाई लिएर कक्ररहवा नाकातिर जाँदै गरेको सूचना दिएको, र त्यहाँ मुण्डनका लागि जाँदै गरेको सूचना दिएको र घटनाको छानबीन भइरहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij