शुक्रवार , मंसिर १५, २०८०
संसारका हरेक देशमा उद्योग, व्यवसाय निरन्तर रूपमा सञ्चालित छन् । केवल बस्न, खान र कमाउनको लागि मात्र कसैले व्यवसाय तथा उद्योग सञ्चालन गर्दैनन् । आधुनिक युगमा कृषि, उद्योग, पर्यटन क्षेत्रको विस्तारसँगै शिक्षा, स्वास्थ्य र मनोरञ्जन पनि सबैको अनिवार्य आवश्यकता बनेको छ । यस्ता आवश्यकताको परिपूर्ति गर्ने ठाउँ औद्योगिक व्यापार मेला तथा महोत्सवले भरिपूर्ण सहयोग गरिरहेका हुन्छन् । स्वदेशी उद्योगबाट उत्पादित वस्तुहरू र उत्पादित वस्तुहरूको यथार्थ जानकारीबारे प्रत्यक्षरूपमा उपभोक्ताले जानकारी प्राप्त गर्ने गर्दछन् भने खेलकुद प्रतियोगिता कार्यक्रमले सहभागी उपभोक्ता र दर्शकहरूमा स्वास्थ्य तथा खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वसम्बन्धी जनचेतना प्रवाह हुने गर्दछ। त्यसैगरी साँस्कृतिक कार्यक्रमबाट मनोरञ्जन प्राप्त गर्ने अवसर प्राप्त हुनुका साथै विभिन्न ठाउँका परिकार, अनेक जातजातीका भेषभुषाको परिचय हुने गर्दछ। मर्चवारदेखि मुस्ताङसम्म र मेचीदेखि महाकालीसम्मका विविध पक्षहरूको बारेमा जानकारी प्राप्त हुने गर्दछ । समय नभएर होस् या आर्थिक समस्याको कारण विभिन्न महत्वपूर्ण ठाउँमा नपुगेका मानिसहरूले पनि अनेकौं ठाउँमा रहेका पर्यटकीय तथा साँस्कृतिक स्थलहरूको बारेमा अनुभव हासिल गर्न पाउँछन् ।
त्यसैगरी भिन्न खालका स्वदेशी जडीबुटीको प्रदर्शनबाट स्वास्थ्यलाभ सम्बन्धी जानकारी प्राप्त गर्न सक्छन् । त्यसैगरी मेला महोत्सव हेर्न आउने मानिसहरूले स्थानीय तथा देशकै चर्चित कलाकारहरूका सुन्दर प्रस्तुतिको आनन्द लिन सक्छन् भने कलाकारहरूले पनि दर्शक श्र्रोताहरूसँग साक्षात्कार हुने अवसर प्राप्त गर्नुका साथै शिक्षा, स्वास्थ्य र मनोरञ्जन गर्ने वातावरणको अवसर प्राप्त गर्ने गर्दछ्न् ।
सयौं विविध स्टलको प्रदर्शनमार्फत स्वदेशी उत्पादन र देशी–विदेशी सूचना प्रविधि क्षेत्रको नयाँनयाँ भर्सन र विकासबारे जानकारी प्राप्त हुने गर्दछ। वर्तमान समयमा विज्ञान क्षेत्रले गरेको विकासबारे ज्ञान प्राप्त हुनुका साथै विद्यालय तहका विद्यार्थीहरूका लागि विज्ञान प्रविधिको अवलोकनले विद्यार्थीहरूमा सूचना प्रविधिबारे सिकाइको महत्वबारे जानकारी हुने र आफ्नो देशका विभिन्न भाषा, संस्कृतिको बारेमा प्रत्यक्ष अवलोकन गर्न पाउने हुँदा मेला महोत्सवले अति नै महत्वूर्ण पुलको काम गरिरहेको हुन्छ ।
बेलाबखतमा आयोजना हुने मेला महोत्सवलाई कसरी लिने? यस्ता कुरा व्यक्तिपिच्छे फरकफरक पनि हुन सक्छ। कसैलाई खेलकुद मनपर्छ, कसैलाई विज्ञान तथा प्रविधिको ज्ञान, कसैलाई स्वदेशी कृषि उपजको बारेमा उत्सुकता त कसैलाई साँस्कृतिक कार्यक्रमबाट भरपुर मनोरञ्जन, कसैलाई महोत्सवका विविध परिकारको स्वादमा आनन्द, कसैलाई नयाँनयाँ डिजाइनका गाडी, सोफा, टेक्टर तथा अटोमोबाइलबारे जानकारी हुन्छ भने कसैलाई कला, संस्कृति तथा पुरातात्विक क्षेत्रको बारेमा जान्ने इच्छा पूरा हुने गर्दछ । सामान्यतया उद्योगी–व्यवसायीहरुले आफ्ना उत्पादनलाई प्रचारप्रसारको लागि प्रदर्शन गर्ने भएकाले उपभोक्ताको लागि सुपथ मूल्यमा सामानहरू प्राप्त गर्न सकिन्छ। यी सबै पूरा गर्ने एउटा उपयुक्त थलो मेला महोत्सव नै हुनेमा दुईमत भने छैन ।
कतिले त औद्योगिक व्यापारिक मेला महोत्सवबाट समेतदेशको उद्योग, व्यवसाय , पर्यटन र कृषिका नयाँनयाँ सम्भावनाका अवसरहरू समेत पहिचान गरी ज्ञान प्राप्त गरेका पनि हुन्छन् । जसले गर्दा नयाँनयाँ उद्यमी, योग्य किसान र कुशल पर्यटन व्यवसायी बन्ने बाटो पनि औद्योगिक मेला महोत्सवले खुला गरिदिएको हुन्छ । पैसा हुनेले मात्र उद्योग व्यवसाय सुरू गर्छन् भन्ने हुँदैन, उद्योग व्यवसाय सञ्चालनका लागि ज्ञान र सीप अनिवार्य हुन्छ त्यो सीप र कलाको माध्यम बेलाबखतमा हुने मेला महोत्सव बन्नसक्छ, जसले आर्थिक रूपले विपन्न मान्छेलाई पनि उद्योगपति र ठूलो व्यवसायी बनाएको उदाहरण प्रशस्त भेटिन्छन् ।
अन्त्यमा, चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा भैरहवामा सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० ले उद्योगी, व्यवसायी, कृषक, पर्यटन व्यवसायी तथा उपभोक्ता, अतिथि, आयोजक, प्रायोजक, विज्ञापनदाता, दर्शक एवं सम्पूर्ण पक्षलाई स्वास्थ्य, शिक्षा र मनोरञ्जन प्रदान गर्दै सकारात्मक उर्जा प्रदान गर्न सफल बनोस् र कोरोनाकालपछि शिथिल बनेको अर्थतन्त्रलाई थप मजबुत बनाउनसफल र फलदायी बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij