२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रण अम्बिका शाह आँखा अस्पतालले मनायो ४१ औं स्थापना दिवस

बिहिवार , मंसिर १४, २०८०

भैरहवा, १४ मंसिर ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल सिद्धार्थनगर नगरपालिका–३, रुपन्देहीले ४१ औं स्थापना दिवस मनाएको छ । बुधबार अस्पताल परिसरमा एक समारोहको आयोजना गरी स्थापना दिवस मनाइएको सूचना अधिकारी प्रतीक पाण्डेयले बताए ।

समारोहको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले रण अम्बिका आँखा अस्पतालले यहाँ मात्र नभइ १४२ करोड बढी जनसंख्या भएको छिमेकी मुलुक भारतबाट आउने धेरै बिरामीको आँखाको उपचार गरेको बताए । उनले भने, ‘अस्पताल व्यवस्थापन समितिलाई धन्यवाद दिन चाहन्छु । विगतमा कसले बोल्यो, कसले गरेन भन्न चाहन्न । प्रत्येक समय आम जनताको पक्षमा काम गर्न लागेको छु ।’

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले आँखासम्बन्धि रोग लाग्नु भन्दा पहिला नै सचेत भए रोगबाट बच्न सकिने बताए । उनले लुम्बिनी प्रदेश सरकारले ठूलो योजना बनाएको र नीति तथा कार्यक्रम ल्याउने क्रममा यो प्रदेशका दुईलाख युवालाई दिनको लागि यहाँको उत्पादनलाई ब्राण्डिङ गर्ने र बजार व्यवस्थापन गर्नेतर्फ सरकार लागेको उनले बताए । उनले काठमाडौं भनेको नेपाल र नेपाल भनेको काठमाडौं भन्ने बुझाइबाट अब माथि उठ्नुपर्नेमा जोड दिए ।

त्यस्तै श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले अस्पताल सिद्धार्थनगर र यो क्षेत्रको गहना भएको बताए । उनले अस्पतालमार्फत ‘स्वास्थ्य पर्यटनमा’ टेवा पुगेको बताए । उनले अस्पतालले प्रदान गर्ने सेवामार्फत विदेशी पर्यटकलाई पनि भित्र्याउन सफल भएको बताए । सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सभापति समेत रहेका राणाले भने, ‘अस्पतालको विकासमा कर्मचारीहरुको ठूलो योगदान छ । ’कर्मचारीको योगदानलाई बिर्सन सक्दैनौं ।’ अस्पतालले अझ यो भन्दा ठूलो उपलब्धी गर्न सक्ने उनको भनाइ छ ।

नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका उपसभापति शेरबहादुर थापाले नेत्र ज्योति संघले सरकारबाट केही सहयोगको अपेक्षा गरेको बताए । उनले भने, ‘नेत्र ज्योति संघ यहाँसम्म आइपुग्दा सरकारबाट केही सहयोग होस् ।’

नेपाल नेत्र ज्योति संघ, रुपन्देहीका सभापति कमलराज जोशीले श्री रण अम्बिका शाह आँखा अस्पतालका कर्मचारी र चिकित्सकको मिहिनेतले अस्पतालले प्रगति गरेको बताए । उनले ग्रामीण क्षेत्रमा आँखाप्रति चासो भएको पाइएको बताए ।

nkkk.jpg

कार्यक्रममा नेत्र ज्योति संघ पाल्पाका सभापति बुद्धि प्रसाद शर्मा, श्री रण अम्बिका शाह आँखा अस्पतालकी निमित्त प्रमुख मेडिकल निर्देशक सह–प्राध्यापक डा. सुशिला पटेललगायतले बोलेका थिए ।

श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता, अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीको स्वागत तथा सूचना अधिकारी प्रतीक पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

४१ औं स्थापना दिवसको अवसरमा अस्पतालले विभिन्न विधामा चिकित्सक तथा कर्मचारीलाई सम्मान गरेको थियो ।