२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

स्वास्थ्य सेवा प्रवाहमा युसीएमएसलाई ‘उत्कृष्ट’ सम्मान

बुधवार , मंसिर १३, २०८०

भैरहवा, १३ मंसिर ।
स्वास्थ्य सेवा प्रवाहमा रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) लाई ‘उत्कृष्ट’ सम्मान प्रदान गरिएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको छैठौं सामाजिक सुरक्षा दिवस–२०८० को अवसरमा लुम्बिनी प्रदेशअन्तर्गत कोषमा सूचीकृत योगदानकर्ताहरुलाई स्वास्थ्य सेवा प्रवाहको आधारमा युसीएमएसलाई उत्कृष्ट सम्मान प्रदान गरेको हो ।

सो सम्मानपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएसलाई प्रदान गरेका हुन् ।

अस्पतालले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनाअन्तर्गत औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजनाअनुरुप गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार सेवा प्रदान गर्न कटिबद्ध रहेको सम्मानपत्रमा उल्लेख छ । 

२०७९ वैशाख १४ गतेबाट यो अस्पतालमा नेपाल सरकारको सामाजिक सुरक्षा कोषअन्तर्गत स्वास्थ्य सेवा सुचारु भएपश्चात हालसम्म आकस्मिक सेवा (इमर्जेन्सी) बाट २३७ र बहिरगं सेवा (ओपिडी) बाट  ४ हजार ५२७ जना गरी जम्मा ४ हजार ७६४ जना श्रमिकहरु उक्त सेवाबाट लाभान्वित भएको अस्पतालले जनाएको छ । जसबाट यो अस्पतालले सामाजिक सुरक्षा कोषबाट हालसम्म करिब १ करोड ५३ लाख २ सय ५० रुपैयाँ उपचारवापत प्राप्त गरेको युसीएमएस प्रशासनले जनाएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा वि.सं. २०५४ सालमा स्थापना भइ स्वास्थ्य सेवामा निजी क्षेत्रबाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेपालको पहिलो मेडिकल कलेज अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्ति उत्पादनका साथै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।