
बुधवार , मंसिर १३, २०८०
भैरहवा, १३ मंसिर ।
प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आफ्नो उपलब्धी सार्वजनिक गरेको छ । प्रतिष्ठानले २० औं वार्षिक उत्सवको अवसरमा मंगलबार भैरहवामा आयोजना गरेको एक समारोहकाबीच उपलब्धी सार्वजनिक गरेको हो ।
उपलब्धी सार्वजनिक गर्दै प्रतिष्ठानकी कार्यकारी निर्देशक तथा सञ्चालक समिति सदस्य स्वाती थापाले प्रतिष्ठानले विशेष गरी शैक्षिक क्षेत्र अन्तर्गत व्यवसायिक प्राविधिक शिक्षामा जोड दिएको बताइन् । उनले प्रतिष्ठानले २७ भन्दा बढी जिल्लाका विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिएको बताइन् । उनले भनिन्, ‘अल्पसंख्यक र सीमान्तकृत समुदायका विद्यार्थीहरुलाई लक्षित गर्दै संस्थाको स्थापना गरिएको हो । संस्थामा ८० प्रतिशत बढी महिला अध्ययनरत छन् ।’
संस्थामा अध्ययन गर्ने विद्यार्थीहरुले धेरै भन्दा धेरै रोजगारीको अवसर पाएको उनको भनाइ छ । कार्यकारी निर्देशक थापाले गुणस्तरीय शिक्षा प्राप्त गरी यहाँका विद्यार्थीहरु उद्यमी बनेको बताइन् । उनले संस्थाले स्वास्थ्य क्षेत्रमा पनि विभिन्न कार्यक्रम गरेको जानकारी दिइन् । सार्वजनिककीरण कार्यक्रममा बोल्दै किशोरकिशोरीको स्वास्थ्य, विभिन्न स्वास्थ्य शिविर, आँखाको मोतीयाबिन्दुको शल्यक्रिया शिविर, कोभिड–१९ तथा मानसिक स्वास्थ्य सम्बन्धि विभिन्न स्वास्थ्य तालिम सञ्चालन गरेको बताइन् ।
प्रतिष्ठानले वातावरणको क्षेत्रमा पनि धेरै कार्यक्रम गरेको बताइन् । उनले भैरहवाको डण्डा नदीलाई केन्द्रीत गरेर अनुगमन कार्यक्रम, जैविक विविधता, चराहरुको संरक्षण, नदी संरक्षण लगायत कार्य गरेको बताइन् । थापाले युनिभर्सिटी अफ न्यू मेक्सिको, वेस्टर्न नेपाल, लुम्बिनी प्रदेशलगायतसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी समेत दिइन् ।
त्यस्तै भावी योजनाको बारेमा जानकारी गराउँदै थापाले मेडिकल ल्याब स्थापना, अमेरिका, युरोप, भारत, लण्डन लगायत देशसँग विदेश अध्ययन कार्यक्रम, संस्थालाई शैक्षिक क्षेत्रमा स्तरउन्नति, रेडियोलोजी र फार्मेसीको नयाँ कार्यक्रम ल्याउने, मोडल ग्रीन क्याम्पसमा रुपान्तरण गर्ने, डण्डा र रोहिणी प्राकृतिक केन्द्र स्थापना गर्ने उनको भनाइ थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले ठूलो संख्यामा विद्यार्थीहरुलाई शिक्षित गराउन सफल भएको भन्दै धन्यवाद दिए । उनले प्राविधिक शिक्षा प्रदान गर्ने संघ–संस्थालाई सहयोग गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा रहेकोले सोहीअनुसार सहयोग गर्दै जाने बताए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले अहिलेको समयमा प्राविधिक शिक्षाको आवश्यकता रहेकोमा जोड दिए । उनले भने, ‘प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले कोरोनाकालमा प्रदेश र स्थानीय सरकारलाई सहयोग गरेको थियो । कलेजमा नै क्वारेन्टिन स्थापना गरेको थियो । ’ मन्त्री पाण्डेयले प्रतिष्ठानलले औषधी वितरण गरेको स्मरण गरे ।
त्यस्तै प्रतिमान–नीमा स्मृति प्रतिष्ठानकी अध्यक्ष विजया केसीले सानो प्रतिष्ठान भए पनि विगतमा गरेका काम र भविष्यका योजनाहरु धेरै रहेको बताइन् । उनले सबैको साथ पाए संस्थाको योजना सफल पार्न सकिने बताइन् । अध्यक्ष केसीले भनिन्, ‘अबको दिनमा हामीले ठूलो सहयोगको अपेक्षा राखेका छौं । सरकारको सहयोग तथा अन्य क्षेत्रसँग सहकार्य गरी संस्थाले काम गर्नेछ ।’
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले विगतमा यो संस्थासँग सहकार्य गरिएको बताए । उनले प्रदेश सरकारले प्रतिष्ठानसँग सहकार्य गरेको र प्रतिष्ठानले कोभिड-१९ को बेला उल्लेखनीय कार्य गरेको बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानलाई अझ उचाईमा पुर्याउन सिद्धार्थनगर नगरपालिकाको टीमले हातेमालो गर्ने बताइन् । उनले भनिन्, ‘सहज अवस्थामा जसले पनि काम गर्न सक्छ । तर यो संस्थाले कोभिड-१९ को कठिन अवस्थामा धेरै राम्रो काम गरेको उनको भनाइ थियो ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij