२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मन्त्री पाण्डेय

बुधवार , मंसिर १३, २०८०

भैरहवा, १३ मंसिर ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले प्राविधिक शिक्षा आजको आवश्यकता रहेकोले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । उनले कुनै पनि संघ–संस्थामा काम गर्न जाँदा प्राविधिक ज्ञान आवश्यकता रहेको बताए । 

प्रतिमान–नीमा स्मृति प्रतिष्ठानको २० औं वार्षिक उत्सवको अवसरमा मंगलबार भैरहवामा आयोजना गरिएको उपलब्धी सार्वजनीकरण समारोहमा बोल्दै गृहमन्त्री पाण्डेयले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले ठूलो संख्यामा विद्यार्थीहरुलाई शिक्षित गराउन सफल भएको भन्दै धन्यवाद दिए । उनले प्राविधिक शिक्षा प्रदान गर्ने संघ–संस्थालाई सहयोग गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा रहेकोले सोही अनुसार सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे  । 

उनले भने, ‘प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले कोरोनाकालमा प्रदेश र स्थानीय सरकारलाई सहयोग गरेको थियो । आफ्नो भवनमा नै क्वारेन्टिन स्थापना गरेको थियो । विभिन्न स्वास्थ्य संस्थालाई औषधी वितरण गरेको थियो । ’

लुम्बिनी प्रदेश सरकारले प्रदेशका दुईलाख युवालाई रोजगारी दिने लक्ष्य लिएको उनको भनाइ छ । मन्त्री पाण्डेयले स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्दै बजारीकरणको व्यवस्था गर्ने बताए । 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले पर्यटकीय ठाउँलाई व्यवस्थित गर्दै पर्यटकलाई सहज रुपमा भित्र्याउन सके मात्र पनि मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताए । उनले लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेशको रुपमा विश्वमा चिनाउन सकिने बताए । उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनका लागि संघ सरकारसँग पहल भइरहेको बताए । मन्त्री पाण्डेयले विमानस्थल सञ्चालनमा आएपछि बुद्ध जन्मस्थल पवित्रभूमि लुम्बिनीसहित पर्यटकीय क्षेत्रमा चहलपहल अझ बढ्ने बताए ।