
आइतवार , मंसिर १०, २०८०
भैरहवा, १० मंसिर ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नयाँनयाँ प्रविधिको विकाससँगै शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । उनले लगानी बढाउन सके मात्रै समयअनुकुल शिक्षा बालबालिकाले प्राप्त गर्न सक्ने बताए ।
रुपन्देहीको रोहिणी गाउँपालिका–२ भटपुरवास्थित श्री पोखरभिण्डी माध्यमिक विद्यालयमा भारत सरकारको अनुदानमा निर्मित दुईतल्ले १२ कोठे भवनको आइतबार उद्घाटन गर्दै उपराष्ट्रपति यादवले शिक्षा मानव जीवनको महत्वपूर्ण पक्ष भएको बताए । उनले जीवनमा अगाडि बढ्न र सफलता प्राप्त गर्न शिक्षा सबैको लागि अत्यन्तै आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘शिक्षाले सबैमा समानताको भाव विकसित गर्नुका साथै देशको उन्नति र समृद्धिमा सहयोग गर्न सक्ने योग्य र सक्षम जनशक्ति तयार गर्छ । ’
यस क्षेत्रको शैक्षिक विकासमा सबै पक्ष, वर्ग, समुदाय र सरोकारवालाहरु दत्तचित्त भइ लाग्न जरुरी रहेको बताए । उनले विद्यार्थीहरुको संख्या र शिक्षकहरुको अनुपात मिलाउन उचित दरबन्दीको लागि सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास र पहल गर्न आवश्यक रहेको बताए । यस क्षेत्रका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन भारतीय दुतावासले गरेको सहयोग उच्च प्रशंसनीय छ । उनले भने, ‘यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ, बलियो एवं सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु । ’ नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेको उनको भनाइ छ ।
छिमेकी राष्ट्र भारतले नेपालको शिक्षाको पूर्वाधार विकासका लागि लगानी गरेको उनले बताए । खासगरी ग्रामीण र दुर्गम क्षेत्रका विद्यालयमा निर्माणमा भारतीय चासो रहनु सकारात्मक रहेको उनले बताए ।
‘विश्वमा खुल्ला सीमा भएको र बिना भिषा दुई देशका नागरिकहरु आवातजावत गर्न सक्ने गरी स्थापित हामीबीचको सम्बन्ध अन्यत्र विरलै पाइन्छ, ’उपराष्ट्रपति यादवले भने ।
ऐतिहासिक एवं धार्मिक महत्व बोकेको रोहिणी गाउँपालिकास्थित पोखरभिण्डी माविको भवन तथा अन्य भौतिक पूर्वाधारमा सहयोग गर्ने भारत सरकारप्रति उनले आभार व्यक्त गरे । उनले यसमा भारतीय दुतावासले खेलेको भूमिकाको प्रशंसा गरे । नवनिर्मित भवनमा विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन भन्दै शुभकामना व्यक्त गरे ।
नेपालका लागि भारतीय कार्यवाहक राजदुत प्रसन्न श्रीवास्तवले भारतले नेपालसँगको सहकार्यलाई अझै मजबुत बनाउँदै लगेको बताए । उनले नेपालको विकासमा साझेदार बन्न पाएकोमा खुशी व्यक्त गर्दै खासगरी शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर भारतले सहयोग गरिरहेको जानकारी दिए ।
रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले भारतले नेपालको शैक्षिक विकासमा गरेको योगदान महत्वपूर्ण रहेको बताए । पूर्वमन्त्री समेत रहेका मन्त्री विश्वकर्माले विद्यालय पूर्वाधार सम्पन्न हुँदा विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन पनि सहयोग पुग्ने बताए ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.) ले पूर्वाधारसँगै पठनपाठन राम्रो भए विद्यालय शिक्षा सुध्रिने जनाए । उनले शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले योजनाबद्धरुपमा काम गरिरहेको बताए । मन्त्री गुप्ताले प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन आग्रह गरे ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले दशक अघि विद्यालय भवन निर्माण भए पनि विभिन्न कारणले उद्घाटन हुन नसकेको जनाउँदै उपराष्ट्रपतिको हातबाट उद्घाटन गराउन पाउँदा गाउँपालिकाबासी हर्षित रहेको बताए । उनले गाउँपालिकाले शैक्षिक सुधारका लागि विभिन्न प्रयास गरिरहेको र प्रदेश र संघ सरकारको सहयोग जरुरी रहेको जनाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता प्रज्जवल बोहराले समग्र रुपन्देहीको विकासमा आफ्ना बुवा एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।
भारतको अनुदान सहयोगमा नेपाली १ करोड ४९ लाख रुपैयाँ लागतमा २०६९ सालमा पोखरभिण्डी माविको भवन निर्माण गरिएको थियो ।
श्री पोखरभिण्डी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु यादवको अध्यक्षता तथा पत्रकार सन्जु पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij