
शनिवार , मंसिर ९, २०८०
रुपन्देही, ९ मंसिर ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले दीगो विकासका लागि लैंगिक हिंसा र विभेद न्यूनीकरण गर्नुपर्ने बताएका छन् । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको शनिबार रुपन्देहीको बुटवलमा उद्घाटन गर्दै उनले लैंगिकताका आधारमा हुने सबैखाले हिंसा र विभेद न्यूनीकरण गर्न सके मात्रै देश विकास गर्न सकिने बताए । उनले महिलाको सुरक्षा र क्षमता विकासका लागि प्रदेशले लगानी गर्ने बताए । उनले लैंगिकताका आधारमा हुने हिंसाले व्यक्ति घर, समाज र राष्ट्रलाई नै प्रभावित बनाएको बताउँदै हिंसाविरुद्ध नागरिकमा जागरण र चरित्र परिवर्तनका अभियान चलाउन सुझाव दिए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले लैंगिक हिंसाविरुद्धका ऐन कानूनको प्रभावकारी कार्यान्वयन र अभियान सञ्चालनका लागि नागरिकको अगुवाइ, सहकार्य र खबरदारी आवश्यक रहेको बताए । अभियानको अवसर पारेर बुटवलका नागरिक अभियन्ताहरुले शनिबारदेखि लैंगिक हिंसाविरुद्ध नागरिक अभियान सुरु गरेका छन् ।
अभियान शुभारम्भ कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले लैंगिक हिंसाविरुद्ध स्थानीय सरकारले टोलवस्तीदेखि महिला र यौनिक अल्पसंख्यकका लागि स्वरोजगार र आत्मनिर्भरताका अभियान चलाइरहेको बताए । उनले स्थानीय तहले न्यायिक समिति र मेलमिलाप केन्द्रमार्फत हिंसाविरुद्ध न्याय निरुपण समेत गरिरहेको बताइन् ।
साहसी कदमका अध्यक्ष, नागरिक अगुवा यौनिक तथा लैंगिक अल्पसंख्यक आनिक रानाले लैंगिक हिंसाका स्वरुप फेरिदै गएकाले हिंसाविरुद्ध महिला, पुरुष र अल्पसंख्यकहरुलाई अपनत्व हुने गरी अभियान र कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै मानव अधिकारका लागि एकल समूह रुपन्देहीका अध्यक्ष राधिका श्रेष्ठले महिलाभित्रको विविधतालाई सम्बोधन सम्बोधन गर्दै लैंगिक हिंसा न्यूनीकरणमा तीन तहकै सरकार र नागरिक समाज लाग्नुपर्ने बताइन् ।
अभियन्ता राधिका भट्टराई र रीता सेनले हिंसाविरुद्धको न्यायिक प्रक्रियालाई सहज बनाउन र पीडितको पुर्नस्थापनामा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा लैंगिक हिंसाको अवस्था र नागरिक अभियानका बारेमा सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोल र ओरेक नेपालका झरना अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए । शनिबारदेखि नै बुटवलमा लैंगिक हिंसाविरुद्ध प्रतिवद्धता सहितको हस्ताक्षर सुरु भएको छ ।
लैंगिक हिंसाविरुद्वको १६ दिने अभियानको उद्देश्य लैंगिक हिसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने नारासहित शनिबारदेखि अभियान सुरु भएको हो । लैंगिकताको आधारमा हुने सबै प्रकारका हिंसा विभेद कुरीति अन्धविश्वास अपराध बहिष्करण र बञ्चितीकरणलाई अन्त्य गर्दै महिला र पुरुषबीच हुने गरेका सबै किसिमका विभेद र असमानता हटाउने हो ।
लैंगिक हिंसाविरुद्वको विश्व्यापी अभियान सन् १९९१ देखि सुरु भएको हो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म सञ्चालन हुने गरेको छ । नेपालले २०५४ देखि यो अभियान सञ्चालन गर्दै आएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५ मंसिर २ गतेको निर्णयअनुसार हरेक वर्ष मंसिर ९ लाई महिला हिंसाविरुद्वको दिवसको रुपमा मनाउने गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij