२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआए प्रदेश सरकारले नेतृत्व लिन्छ : पाण्डेय

बिहिवार , मंसिर ७, २०८०

भैरहवा, ७ मंसिर ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआए अब यसको नेतृत्व लुम्बिनी प्रदेश सरकारले लिने बताएका छन् । उनले नेपालमा आन्दोलनको माध्यमले मात्रै अधिकार प्राप्त गर्न सकिन्छ भने त्यो पनि प्रदेश सरकारले गर्ने बताए ।

बुधबार भैरहवामा सुरु भएको छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले कार्यक्रमका प्रमुख अतिथि संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई विमानस्थल सञ्चालनको लागि मन्त्रीपरिषद्मा कुरा राख्न आग्रह गरे । उनले भने, ‘ दिल्लीका मुख्यमन्त्री केजरीवालले अधिकारका लागि दिल्लीमा प्रदर्शन गर्न सक्छन् भने गौतमबुद्ध अन्तर्राष्ट्रिय एअरपोर्ट सञ्चालनमा नआए यसको नेतृत्व प्रदेश सरकारले लिन्छ  । काठमाडौंलाई नेपाल र नेपाललाई काठमाडौं मात्र नबनाऔं ।’ काठमाडौंमा बसेर भगवान गौतमबुद्धको नाममा डलर लिने काम मात्र नगर्न र लुम्बिनी प्रदेशमा पनि त्यो डलरको उपयोग हुनुपर्छ आफ्नो मान्यता रहेको उनको भनाइ छ । 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले प्रकृतिले नेपाललाई पर्यटनको लागि बनाइदिएको राष्ट्र भएको बताए । उनले पर्यटनको माध्यमले नेपालमा आर्थिक समृद्धि ल्याउन सकिने बताए । 

मन्त्री पाण्डेयले सुरक्षा निकायले नेपाल आएका पर्यटकलाई स–सम्मान प्रवेश गराउने वातावरण बनाउनुपर्ने बताए । उनले यहाँ आउने पर्यटकलाई घुम्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेशलाई विश्वमै पर्यटनको प्रदेशको रुपमा चिनाउन सकिने उनको भनाइ छ ।