
बुधवार , मंसिर ६, २०८०
रुपन्देही, ६ मंसिर ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष जीवनप्रसाद वझाले बुधबार पदभारण ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष वझाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका जनताको भविष्यसँगै जोडिएकाले सोही अनुसार अघि बढ्ने प्रतिवद्धता गरे । अस्पताललाई बुटवलबासीको ठूलो गहनाको रुपमा विकास गर्न आफ्नो पहल रहने उनले बताए ।
उनले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा सम्पूर्ण परिवारको सहयोग र साथमा आफू अघि बढ्ने बताए । अस्पतालमा आउने सेवाग्राहीलाई अपनत्व महसुस हुने गरी व्यवहार गर्न सुझाव दिँदै उनले सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आ–आफ्नो ठाउँमा जिम्मेवार भएर लाग्न उनले निर्देशन गरे । त्यसै गरी अस्पतालमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज र व्यवस्थित बनाउने गरी अघि बढ्ने उनले बताए । आवश्यक जनशक्ति थप गर्ने तथा प्रविधिको व्यवस्थामा आफ्नो प्राथमिकता रहने उनले बताए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्यको हब बनाउने गरी सहकार्य गर्न आवश्यक रहेको बताए । अस्पतालको विकाससँग बुटवलको भविष्य जोडिएको उल्लेख गर्दै उनले यहाँ सबै सामाजिक संघ–संस्था तथा राजनीतिक दलहरु एक भएर लाग्नुपर्नेमा उनले जोड दिए । त्यसै गरी अस्पतालको भवन निर्माणको काम सर्वोच्च अदालतमा परेको मुद्दासँगै रोकिएकाले सहकार्यबाटै त्यसलाई फिर्ता गरेर अघि बढ्नुपर्ने उनले बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सेवाग्राहीले महसुस गर्न सक्नेगरि सामान्य तर महत्वपूर्ण कामहरुको सुधारसँगै अघि बढ्न सुझाव दिए ।
अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा. सुदर्शन थापाले अध्यक्ष वझालाई स्वागत गर्दै अब नयाँ ढंगले अघि बढ्न अस्पताल परिवारलाई थप उर्जा प्राप्त भएको उल्लेख गरे । उनले अस्पतालमा विकासका लागि एक भएर अघि बढ्न प्रतिवद्ध भएको उल्लेख गर्दै थापाले जनशक्ति व्यवस्थापन, भौतिक संरचनाको व्यवस्था लगायतका समस्याबारे जानकारी गराए ।
कार्यक्रम अस्पतालका प्रशासकीय अधिकृत राजन केसीको सञ्चालन तथा नर्सिङ प्रमुख ज्योति पौडेलको स्वागत सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij