भैरहवा, ३ मंसिर ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्ने विश्वास व्यक्त गरेका छन् । छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश व्यक्त गर्दै मन्त्री पाण्डेयले नेपालको संविधानको सफल कार्यान्वयन गर्ने दिशामा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
‘सूर्य देवता र छठ माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र दक्षिणउत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु, ’शुभकामना सन्देशमा उल्लेख छ ।
छठ पर्व समापनको अवसरमा लुम्बिनी प्रदेश सरकारले सोमबार रुपन्देही, कपिलवस्तु, नवलपरासी र बाँकेमा सार्वजनिक विदा दिएको छ ।
समाजसेवी लामिछानेको निधनप्रति दुःख व्यक्त
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले समाजसेवी अरुण लामिछानेको निधनप्रति दुःख व्यक्त गरेका छन् । भैरहवाका समाजसेवी तथा लायन्स क्लब अफ होलिसिटी, सिद्धार्थनगरका पूर्व सदस्य लामिछानेको असमायिक निधनको खबरले स्तब्ध बनाएको मन्त्री पाण्डेयले बताए । उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।