२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

भैरहवामा छठ पर्वको तयारी पूरा

आइतवार , मंसिर ३, २०८०

भैरहवा, ३ मंसिर ।
रुपन्देहीको भैरहवामा छठ पर्वको तयारी पूरा भएको छ । छठ पर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ । 

विगतमा विशेष गरी मधेशी समुदायले मनाउँदै आएको छठ पर्व अहिले नेपालको साझा पर्व बनेको श्री छठ पूजा समारोह व्यवस्थापन समिति सिद्धार्थनगर–५ भैरहवा, रुपन्देहीका संयोजक आनन्द प्रसाद गुप्ताले बताए । सिद्धार्थनगर–५ स्थित श्री कालीभक्ति गण (ई) मा आइतबार दिउँसो ३ बजेदेखि छठपूजा सुरु हुने गुप्ताले जानकारी दिए ।  

विगत ६५ वर्षदेखि श्री कालीभक्ति गण (ई) मा छठपूजन समारोह भव्य रुपमा भइरहेको उनले बताए । संयोजक गुप्ताका अनुसार आइतबार दिउँसो लुम्बिनी प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेय र सोमबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा छठ पूजन समारोह हुनेछ । 

छठपूजा अघि दिउँसो २ बजे सिद्धार्थनगर–४ स्थित श्री रामजानकी हनुमान मन्दिरदेखि झाँकीसहित शोभा यात्रा निकालिने उनले बताए । शोभा यात्रामा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने संघ–संस्था, समूहलाई पुरस्कृत गर्ने र सो का लागि गोविन्द प्रसाद बस्यालको संयोजकत्वमा मूल्यांकन समिति गठन गरिएको गुप्ताले जानकारी दिए । समितिको सदस्यहरुमा सीताराम भक्त, दशरथ भक्त, सरस्वती श्रेष्ठ र श्रीराम गुप्ता रहेका छन् । 

संयोजक गुप्ताले छठ पूजा भव्य सभ्य रुपमा सम्पन्न गर्न श्री कालीभक्ति गण (ई) ले निरन्तर सहयोग गर्दै आएको बताए । उनले छठ पूजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास भएकाले यो पर्वको विशेष महत्व रहेको बताए ।

chhath parba pic.jpg

शनिबार छठ पूजा स्थलमा बसेको बैठकले शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धमा छलफल गरेको सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । जसअनुसार दिउँसो १२ बजे सम्पूर्ण सवारीसाधन पूर्ण रुपमा निषेध गर्ने, बिहान १० बजेदेखि ४ बजेसम्म छठ पूजाको लागि पूजा सामग्री तथा प्रसाद ल्याउनका लागि सवारीलाई प्रवेश दिने, ४ बजेपश्चात सम्पूर्ण सवारीसाधन प्रवेश निषेध गर्ने र एम्बुलेन्सलाई प्रवेश दिने निर्णय भएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए । वडाअध्यक्ष श्रेष्ठले भने, ‘छठ पर्वलाई भव्य र सभ्य रुपमा मनाउन लागिपरेका छौं ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले सबै मिलेर छठ पर्व भव्य र सभ्य रुपमा मनाउनुपर्नेमा जोड दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले पछिल्लो समय छठ पर्व मनाउनेको संख्या बढ्दै गएको बताए ।

बैठकमा श्री कालीभक्ति गण (ई) का प्रमुख सेनानी सुवाकर खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह विष्ट, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसी, जैसवाल सेवा समिति सिद्धार्थनगरका अध्यक्ष अमित कुमार गुप्ता, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य कैलाश गुप्ता, समाजसेवी जोगेन्द्र अग्रहरीलगायतको उपस्थिति रहेको थियो ।

nnnm.jpg

त्यस्तै सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री राम जानकी हनुमान मन्दिरमा पनि छठ पूजाको तयारी पूरा भएको मन्दिर समितिका अध्यक्ष तथा छठ पूजा समितिका कार्यक्रम संयोजक नरेन्द्र प्रसाद रौनियारले बताए । उनले ६ हजार बढी भक्तजन छठ पूजास्थल/पोखरीमा आउने जानकारी दिए ।

WhatsApp Image 2023-11-19 at 7.47.23 AM.jpeg

सिद्धार्थनगर–९ स्थित गोनहियामा पनि छठ पूजाको तयारी पूरा भएको श्री छठ पूजा समिति गोनहियाका सचिव राजन गुप्ताले बताए ।

छठ पर्वमा खासगरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ ।  

छठ पूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादका रूपमा अघ्र्य अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात् ‘भोरका अघ्र्य’ मा दिइने परम्परा रहेको छ ।