
शनिवार , मंसिर २, २०८०
महोत्तरी, २ मंसिर ।
नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर दुइवटामा नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना बाहिरिएको छ । महोत्तरीस्थित बर्दिवास–२ मा पूर्ण भूमिहिनको तथ्यांक संकलन गर्ने क्रममा फरक–फरक दुई जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाइएको हो ।
संयोगले नाम र बुवाको नाम मिले तापनी उनीहरु फरक–फरक ब्यक्ति हुन् । २०८० साल साउन ३ गते ईलाका प्रशासन कार्यालय बर्दिवासले बर्दिवास–८ बस्ने दल बहादुर भुजेलको प्रतिलिपि जारी गर्दा उल्लेख गरेको नम्बर र २०४४ सालमा मै जारी गरेको बर्दिवास–२ का दलवहादुर भुजेलको नम्बर एउटै रहेको खुलेको हो ।
अचम्म त कहाँनिर छ भने उनीहरुको नागरिकता नम्बर ०४९७०२१५ मात्र मिलेको छैन जन्ममिति, बुवाको नाम समेत मिलेको छ । तर, दुवै भुजेलहरुको नागरिकता जारी भने फरक–फरक मितिमा भएको देखिएको छ । अहिले हात्तिलेट बस्ने भुजेलको नागरिकता २०४४ फाल्गुन ६ गते जारी भएको देखिन्छ भने बर्दिवास–२ बस्ने भुजेलको नागरिकता एकदिन अगाडि अर्थात २०४४ साल फाल्गुन ५ गते जारी भएको देखिएको छ ।
बर्दिवास–२ को वडा कार्यालयले पूर्ण भूमिहीनको सूची बनाएर मालपोत कार्यालय पठाउँदा मालपोतमा दलबहादुर भुजेलको नाममा १० धुर जग्गा देखिएपछि खोजीको बिवाय बनेको थियो । पुस्तौंदेखि जग्गा नै नभएका बर्दिवास–२ का दलबहादुर भुजेलको नाममा कसरी १० धुर जग्गा रहयो ? भन्ने विषयमा स्थानीयहरु आफैले खोजी गरेका थिए । यो विषयमा बुझ्न जनप्रतिनिधि एकबहादुर भुजेल आफै खटिए । नाताले मामा पर्ने पूर्ण भूमिहिन रहेका एकबहादुरले मामाको नाममा १० धुर जग्गा रहेको मालपोत कार्यालयले प्रमाण पठाएपछि अचम्ममा परेका थिए ।
सुरुमा उनी प्रशासन कार्यालय भन्दा पनि भुजेल वंशमा दलबहादुर भुजेल नाम भएका व्यक्तिहरुको खोजीमा लागे । खोजीकै क्रममा हात्तिलेट बस्ने दलबहादुर भुजेलसँग मामाको नागरिकताको सवै मिलेपछि अहिले एकबहादुरले घरमा नै पुगेर सो नागरिकता आफ्नो साथमा ल्याएका छन् ।
तर, एकबहादुरका मामा पनि हात्तिलेटवाट नै बसाई सरेर बर्दिवास–२ मा आएका थिए । तत्कालिन समयमा नागरिकता जारी गर्दा दुवै भुजेलहरुको ठेगाना पनि हात्तिलेट नै थियो । जारी मितिबाहेक नागरिकतामा सबै मिलेपछि पूर्ण भूमिहिन भनिएका मामालाई नगरपालिकाले वितरण गर्ने भनिएको जग्गामा समेत अफ्ठ्यारो स्थिति सिर्जना भएको छ ।
अझ हात्तिलेट बस्ने दलबहादुर भुजेलले त मुक्तिनाथ विकास बैंकबाट कर्जा समेत लिएको बुझिएको छ । एउटै नागरिकता लिएर दुई फरक–फरक व्यक्तिहरुले अहिलेसम्म गरेका सरकारी कामहरुमा समेत प्रश्न चिन्ह खडा भएको छ ।
नागरिकतामा दुई व्यक्तिहरुको एउटै नागरिकता नम्बर कसरी आयो भन्ने विषयमा आफुलाई पनि अचम्म लागेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल बताए ।
‘दुवै नागरिकता २०४४ सालमा टोलीवाट बनाएको देखिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘हामी उक्त त्रुटिको विषयमा खोजी गर्नेछौं । दुवै भुजेलको नागरिकता तत्कालिन टोली प्रमुख बालचन्द्र खनालले जारी गरेको देखिएको छ ।’
यो दुवै नागरिकताको विषय नटुंगेसम्म पूर्ण भूमिहिन भनिएका भुजेलले जग्गा समेत नपाउने भएका छन् । ‘कानुनी रुपमा उनको नाममा जग्गा देखिएपछि वडाले पनि उनको हितमा केही गर्न सक्दैन । वडा कार्यालयका कम्प्युटर अपरेटर विनोद पौडेलले भने, ‘हामी जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयलाई चिठी पनि पठाउदैछौं ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij