२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

भीम अस्पतालको विकासमा राम्रो होस् भन्ने धारणा छ : अध्यक्ष डा. शर्मा

आइतवार , कार्तिक २६, २०८०

भैरहवा, २६ कार्तिक ।
रुपन्देहीको भैरहवास्थित भीम अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष डा. अनन्त कुमार शर्माले अस्पतालको विकासमा राम्रो होस् भन्ने आफ्नो धारणा रहेको बताएका छन् । उनले अस्पताल अझ राम्रो हुनेमा विश्वस्त रहेको बताए ।

भीम अस्पताल विकास समितिले आइतबार भैरहवामा आयोजना गरेको स्वागत तथा पदस्थापना कार्यक्रममा बोल्दै डा. शर्माले भने, ‘अस्पताललाई सकेसम्म अझै राम्रो पार्ने हो । पूर्वअध्यक्षहरुको पनि सल्लाह लिनेछु । सबैजना सकारात्मक नै हुनुहुन्छ । तपाईहरु सबैको सहयोग पाउने म अपेक्षा गर्दछु ।’ भीम अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट समेत रहेको डा. शर्माले अस्पतालमा डिजिटल एक्स–रे आफ्नो पालोमा आएको बताए ।

कहिलेकाही काम गर्दागर्दा पनि केही छुट्न सक्ने भएकाले सल्लाह-सुझाव दिएर सहयोग गर्न उनले आग्रह गरे । आफूलाई स्वागत गर्ने अस्पतालका मेडिकल सुपरिटेण्डण्ट (मेसु) सहित अस्पतालका कर्मचारी, राजनीतिक दल, अस्पताल विकास समितिका पूर्वअध्यक्षहरु, समाजसेवीलगायतले उनले धन्यवाद दिए । उनले स्वास्थ्य क्षेत्रमा झण्डै ३० वर्ष आफूले काम गरिसकेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारु आयोगका सदस्य डा. उमाशंकर प्रसाद चौधरीले हालका मेसु डा. मोहम्मद नुरुल होदा र पूर्व मेसु एवं नवनियुक्त अध्यक्ष डा. अनन्त कुमार शर्माबीच समन्वय र सहकार्य भएर अस्पताल अझ राम्रो बन्ने विश्वास व्यक्त गरे । उनले आफू लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख हुँदा अस्पताल विकास समिति गठनको विषय ड्राफट गरेको हुँ । उनले भने, ‘अस्पताल विकास समितिको अधिकारलाई फराकिलो बनायौं, नाममा मात्र होइन, कानूनी हैसियत दिनुपर्छ भन्ने हाम्रो मान्यता थियो ।’ उनले सफलतापूर्वक काम अघि बढाउन राजनीतिक प्रतिवद्धता, इच्छाशक्ति, कानूनको पालना र जनशक्ति आवश्यक रहेकोमा जोड दिए ।

Bhim 22.jpg

विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले स्वास्थ्य क्षेत्रमा लामो समय काम गर्नुभएका व्यक्तित्वलाई भीम अस्पतालले अध्यक्षको रुपमा पाएको बताए । उनले स्थानीय सरकारको मर्म बुझ्नुपर्ने जोड दिए । उनले स्वास्थ्य क्षेत्रमा राजनीति गर्न नहुने बताए ।

भीम अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेट डा. मोहम्मद नुरुल होदाले लुम्बिनी प्रदेश सरकारको निर्णय स्वागतयोग्य रहेको बताए । उनले सबैसँग हातेमालो गर्दै अस्पताल अघि बढ्ने बताए । उनले भीम अस्पताल सबैको साझा सम्पत्ति भएको बताए । उनले टीमवर्क आवश्यक रहेकोमा जोड दिए । 

कार्यक्रममा समाजसेवी विकास रायमाझी, नेकपा (एकीकृत समाजवादी) रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव, श्री राम जानकी हनुमान मन्दिर समिति सिद्धार्थनगर–४ का अध्यक्ष नरेन्द्र प्रसाद रौनियार, जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीका अध्यक्ष सियाराम यादव, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का कार्यसमिति सदस्य शिवम जैसवाल, भीम अस्पतालका सूचना अधिकारी तथा बालरोग विशेषज्ञ डा. आरिफ हुसेन, नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष रामप्रसाद ढकाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का जिल्ला अध्यक्ष रवि कुमार रौनियार, समाजसेवी गोविन्द प्रसाद बस्याल, श्रवण पाण्डेय, अधिवक्ता प्रख्यात बन्जाडे, भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष आनन्द प्रसाद गुप्ता, हितराज पन्थी, दीपक क्षेत्री न्यौपानेलगायतले बोल्दै नवनियुक्त अध्यक्षलाई अवसर र चुनौति दुवै रहेको बताए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेट डा. मोहम्मद नुरुल होदाको अध्यक्षता, भीम अस्पताल कर्मचारी युनियनका अध्यक्ष गोपाल उपाध्यायको स्वागत तथा अस्पतालका अहेव एवं नेपाल सि.एम.ए. संघका केन्द्रीय सदस्य जनकराज पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषद्को २०८० कार्तिक २३ गतेको निर्णयले डा. अनन्त कुमार शर्मालाई ४ वर्षे कार्यकालका लागि भीम अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो ।