२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

देशको समृद्धिका लागि बामपन्थी दलबीच एकता हुनुपर्छ : झलनाथ खनाल

शनिवार , कार्तिक २५, २०८०

  • 1000
    Shares
  • 1000
    Shares
  • ललितपुर, २५ कार्तिक । 
    पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशको समृद्धि र राजनीतिक स्थिरताका लागि बामपन्थी दलहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

    शुक्रवार पत्रकार अमृतनाथ तिमल्सिनाले खेलेको समृद्धि सरोकार नामक पुस्तकको बिमोचन गर्दै नेता खनालले ललितपुर जिल्लाका बामपन्थी नेताहरुलाई साक्षी राखेर एकताको कुरा गरेको भन्दै उनले ललितपुरबाटै यसको पहलकदमी हुन जरुरी रहेको बताए ।

    उनले पुस्तकका लेखकले विधि, विकासको अभ्यास र प्रणालीका बारेमा चिरफार गरेको भन्दै समृद्धि यात्रामा लेखकले सुझाएका विषय महत्वपूर्ण भएको समेत बताए । 

    पुस्तक बिमोचन समारोहमा बोल्दै नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले तिमल्सिनाले लेखेको पुस्तकमा समृद्धिका सम्भावना र चुनौतीका विषयमा समेत चिरफार गरिएको भन्दै यसले राजनीतिक दलहरुलाई समेत योजना बनाउन र कार्यान्वयन गर्न सहज पार्ने बताइन्।

    नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुनिता बरालले पुस्तकमा शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन जस्ता क्षेत्रको विकासमा नीति निर्मातालाई बाटो देखाएको भन्दै युवापुस्ताले देश विकासका विषयमा चिन्ता राख्नुपर्ने धारणा राखिन् ।

    वरिष्ठ बामपन्थी नेता माधव पौडेलले तिमल्सिनाले लेखेको पुस्तकले विकासका आयामलाई व्याख्या मात्र गरेको नभइ समृद्धिका लागि मार्गदर्शन पनि गरेको भन्दै लेखकलाई धन्यवाद दिए । 

    पत्रकार तिमल्सिनाले विभिन्न पत्रपत्रिकामा प्रकाशित र नयाँ विचारसमेत समेटेर समृद्धि सरोकार नामक पुस्तक प्रकाशन गरेका हुन् । ग्रामीण पत्रकारितामा चासो राख्ने लेखक तिमल्सिनाको यो सातौं पुस्तक हो ।