२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

क्यान्सर अस्पतालमा जडान गरिएको पानीको फिल्टर प्लान्ट हस्तान्तरण 

शनिवार , कार्तिक २५, २०८०

भरतपुर, २५ कार्तिक । 
चितवनको भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जडान गरिएको पिउने पानी फिल्टर प्लान्ट हस्तान्तरण गरिएको छ । अस्पतालको नयाँ भवनमा निर्माण गरिएको पिउने पानी फिल्टर प्लान्ट अस्पताललाई हस्तान्तरण गरिएको हो । 

लायन्स क्लब अफ नारायणगढ बालकुमारी र नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संयुक्त रुपमा अस्पतालको अपरेसन थिएटनसँगै पिउने पानी फिल्टर प्लान्ट जडान गरेका हुन् । 

शुक्रबार अस्पतालमा आयोजित कार्यक्रममा लायन्स क्लब ३२५ आरका डिष्ट्रिक्ट गभर्नर आर एस महतो र सहकारीका अध्यक्ष बालगोपाल चुकेले अस्पतालका नायब निर्देशक डा उमेश नेपाललाई प्लान्ट हस्तान्तरण गर्नुभएको हो । बिरामी र बिरामीका कुरुवाका लागि शुद्ध पिउने पानीको अभाव भएको अस्पतालले गुनासो गरेपछि आफूहरुले फिल्टर प्लान्ट जडान गरिदिएको अध्यक्ष चुकेले बताए । 

बिरामी र उनीहरुको कुरुवाका लागि तातो र चिसो पानी पिउन मिल्ने गरी दुई वटा फिल्टर प्लान्ट जडान गरेर हस्तान्तरण गरिएको चुकेको भनाइ छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शंकर आचार्यले १ लाख ७५ हजार रुपैयाँको लागतमा अटोमेटिक वाटर फिल्टर जडान गरिएको बताए । उनकाअनुसार तातो पानी आउने फिल्टर ५० लिटर क्षमताको र चिसो पानी आउने फिल्टर १० लिटर क्षमताको रहेको छ । 

तातो र चिसो पानीको तापक्रम आवश्यकताअनुसार धेरै र थोरै बनाउन मिल्ने अध्यक्ष आचार्यको भनाइ छ । कार्यक्रममा लायन्स क्लब ३२५ आर का डिष्ट्रिक्ट गभर्नर महतोले अस्पतालमा लायन्स क्लबले निरन्तर सहयोग गर्ने अवसर पाएकोमा अस्पतालाई धन्यवाद दिए । लायन्स क्लबले अस्पतालमा निकट भविष्यमा ठूलो प्रोजेक्टर लिएर आउने तयारी गरेको समेत उनको भनाइ छ । 
अशुद्ध पानीका कारण मानिसको स्वास्थ्यमा विभिन्न खालका रोग लाग्ने गरेको भन्दै महतोले अस्पतालमा उपलब्ध गराइएको शुद्ध पिउने पानीबाट दीर्घकालसम्म अस्पतालमा बिरामी र बिरामी कुरुवा लाभान्वित हुने बताए । 

कार्यक्रममा अस्पतालका नायब निर्देशक डा. नेपालले अस्पतालमा लायन्स क्लबले विभिन्न समयमा सहयोग गर्दै आएको स्मरण गरे । बिरामीहरु पानी पिउनका लागि माथिल्लो तलाबाट भवन बाहिर जानुपर्ने अवस्था रहेकोमा पानीको फिल्टर जडान भएपछि बिरामीका आफन्तलाई सहज भएको डा. नेपालले बताए ।