२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

दुर्घटना न्यूनीकरणका लागि पश्चिम नेपालद्वारा चालक प्रशिक्षण कार्यक्रम सञ्चालन

शनिवार , कार्तिक २५, २०८०

बुटवल, २५ कार्तिक ।

सवारी दुर्घटना र यसबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले रुपन्देहीको बुटवलमा चालकहरुलाई प्रशिक्षण दिइएको छ । झण्डै २ हजार ५ सय बस व्यवसायीहरु सदस्य रहेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापन प्रशिक्षणलाई निरन्तरता दिएको हो ।

प्रशिक्षण कार्यक्रममा दुर्घटना न्यूनीकरणका लागि सवारीचालक तथा सह–चालकहरुमा जिम्मेवारीबोधका साथै सकारात्मक सोचको विकास हुनुपर्नेमा जोड दिइएको छ । साथै उनीहरुको व्यवहार र प्रस्तुतिमा पनि सुधार ल्याउनुपर्ने कुरामा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुले सुझाव दिएका छन् ।

प्रशिक्षकहरुले चालकहरुलाई समयअनुकुल आवश्यक नीति, नियम र ज्ञानसहित उनीहरुको तनाव व्यवस्थापनतर्फ पनि ध्यान दिनुपर्ने कुरा सुझाएका छन् । सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापनसम्बन्धि अभियानलाई निरन्तर जारी राखेको उल्लेख गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का सञ्चालक नारायण घिमिरेले चालकहरुको स्वभाव र व्यवहारमा परिवर्तन ल्याउन सफल भएको दावी गरे ।

प्रशिक्षण कार्यक्रममा राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सवारी मानवको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सवारीचालकहरू जिम्मेवार हुनुपर्नेमा जोड दिइन् । सवारीचालकहरुले छिटो गन्तव्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिष्पर्धा मात्रै नगरेर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई आग्रह गर्दै प्रहरी निरीक्षक पाण्डेले सवारी सम्बन्धी नियम कानूनहरु पालना गरेमा दुर्घटना न्यूनीकरण हुने दावी समेत गरे ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले सवारी चालक, सह–चालक, यात्रुहरु सबै जिम्मेबार भए दुर्घटना न्यूनीकरणमा टेवा पुग्नुका साथै वर्षेनी हुने धनजनको क्षति समेत कम गर्न सकिने बताए । सार्वजनिक सवारीसाधन प्रयोगकर्ता सबैपक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिदै भुसालले नियमनकारी निकायले पनि कतिपय अवस्थामा सामाजिक र व्यवहारिक पक्षबाट दृष्टिकोण बनाउनुपर्ने बताए ।

398519746_2233995606809601_4084913147462673185_n.jpg

कार्यक्रममा सञ्चारकर्मी शरण कर्माचार्यले चालक तथा सह–चालकहरुले यात्रुहरुसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्ने जोड दिदै दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका लागि नियमनकारी निकाय पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए । सवारी चालक तथा सह–चालकहरुले आफ्नो सीप, कला र दक्षता बढाउनुका साथै यात्रुहरुसँगको व्यवहारमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको उनले औल्याए । 

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनीका अध्यक्ष मोहन केसी, सवारी दुर्घटना न्यूनीकरण तथा आन्तरिक व्यवस्थापन समितिका सचिव जितेन्द्र खत्रीलगायतले बढ्दो दुर्घटना न्यूनीकरण र सरोकारवालाको भूमिकाबारे चर्चा गरेका थिए ।

वि.सं. २०६६ सालदेखि निरन्तर प्रशिक्षण सञ्चालन गरेको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले १० हजार ५ सय यातायात मजदूर तथा कर्मचारीहरुलाई रोजगारी प्रदान गर्न सफल भएको जनाएको छ ।