२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

लुम्बिनी प्रादेशिक अस्पताल : कार्यसम्पादनमा तेस्रो स्थान हासिल गर्न सफल

शुक्रवार , कार्तिक २४, २०८०

रुपन्देही, २४ कार्तिक । 
रुपन्देही बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । अस्पतालले थप सुधार गर्दै गत वर्षभन्दा एक स्थानमाथि उक्लिन सफल भएको हो । प्रदेशका १३ वटा अस्पतालहरुमध्ये लुम्बिनी प्रादेशिकले ७० दशमलव ३६ अंकसहित तेस्रो स्थान हासिल गर्न सफल भएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. सुदर्शन थापाले जानकारी दिए । 

गत वर्ष यो अस्पताल लुम्बिनी प्रदेशमा चौथो हुन सफल भएको थियो । अस्पतालमा ३ दिनदेखि जारी कार्यशालाको समापन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले अस्पताललाई प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएकोमा प्रमाणपत्रसहित सम्मान व्यक्त गरे । विवाद नआउने गरी पारदर्शी तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारी बनाउन निर्देशन दिँदै उनले थप प्रगतिको कामना गरे । 

त्यसै गरी लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद प्रसाद गिरीले अस्पतालाई थप सेवाग्राही समर्पित गराउन आग्रह गरे ।  

अस्पतालले पछिल्लो आर्थिक वर्ष ३ लाख २ हजार ६ सय ९६ सेवाग्राहीलाई बहिरंग स्वास्थ्य उपचार उपलब्ध गराइएको छ । यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा १५ हजार ७ सय २ ले बढी हो । अस्पतालमा अघिल्लो आर्थिक वर्ष (२०७८/७९) मा २ लाख ८६ हजार ९ सय ९४ जनाले सेवा लिएका थिए । त्यसै गरी आर्थिक वर्ष २०७७/७८ मा १ लाख २२ हजार ८ सय ६४ जनाले सेवा लिएका थिए ।

आकस्मिक कक्षतर्फ पनि सेवा लिनेको संख्यामा वृद्धि भएको छ । पछिल्लो वर्ष अस्पतालमा ६७ हजार ५ सय ६१ जनाले आकस्मिक सेवा लिएका थिए भने त्यस अघिको वर्ष २०७८/७९ मा ५५ हजार ६ सय २१ जनाले सेवा लिएका थिए । त्यसै गरी आर्थिक वर्ष २०७७/७८ मा ४४ हजार ८ सय १३ जनाले आकस्मिक कक्षमा सेवा लिएको थापाले जानकारी दिए ।

त्यसै गरी अस्पतालले सेवा विस्तारसँगै गत महिनादेखि बालबालिका तथा महिला प्रसुतिका लागि छुट्टै काउण्टर सञ्चालनमा ल्याएको छ । विस्तारित स्वास्थ्य सेवामा न्यूरो एच.डी.यू (नयाँ भवनमा), एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरेको छ । अस्पतालले यसअघि नै ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरी सञ्चालन गर्दै आएको छ ।