
सोमवार , आश्विन २९, २०८०
भैरहवा, २९ असोज । होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीको १० औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम सोमबार भैरहवामा सम्पन्न भएको छ । गत असोज ११ गते संगठनको अधिवेशनबाट राम प्रसाद पोख्रेलको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका थिए ।
संगठनको वरिष्ठ उपाध्यक्षमा लिलाधर भट्टराई, उपाध्यक्षमा नरेन्द्र खनाल, दिनबन्धु खनाल, महासचिवमा बाल बहादुर घिमिरे, सचिवमा कल्पना न्यौपाने, कोषाध्यक्षमा दल बहादुर थापा र सह–कोषाध्यक्षमा गुनाखर गौतम निर्वाचित भएको थिए ।
त्यस्तै सदस्यहरुमा शुभराज गौतम, अर्जुन प्रसाद गौतम, रोमकान्त भट्टराई, पदम प्रसाद पन्थ, हुमनाथ ढकाल, ज्ञानेश गुरुङ्ग र सुशिल पौडेल निर्वाचित भएका थिए ।
पदस्थापना कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीसँग सिद्धार्थनगर नगरपालिका सहकार्य गर्दै अघि बढ्ने बताइन् । उनले सडक खाना महोत्सव भैरहवाको गहना भएको बताइन् । नगर उपप्रमुख अधिकारीले भैरहवामा रात्रीकालीन बजारको सुरुवात गरिने बताइन् ।
रु.२५ हजार भारु भन्दा बढी लिएर नेपाल आउन नपाउने प्रावधानबारे सम्बन्धित क्षेत्रमा कुरा राख्ने उनले बताइन् । उनले सिद्धार्थनगर नगरपालिकामा कृषियोग्य जमिन प्रयाप्त नरहेकाले पर्यटनको माध्यमबाट सिद्धार्थनगरलाई आर्थिक अवस्था मजबुत बनाउन सकिने बताइन् ।
त्यस्तै विशिष्ट अतिथि भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले उद्योग व्यवसाय धरासायी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले आफू निजी क्षेत्रको प्रतिनिधि भएकोले होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीप्रति माया रहेको बताए । उनले भने, ‘उद्योगी व्यवसायी पलायन भएका छन् । ’ उनले होटलमा आउने ग्राहकले कुनै गलत गर्दा होटल सञ्चालकलाई दुःख दिने कार्य गलत भएको बताए ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष एवं होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले धेरै पर्यटक भित्र्याउन सहज वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले होटल व्यवसायमा धेरै समस्या रहेकाले समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले आफूले नेतृत्व सम्हाले पनि सबैको साथ र सहयोगले संगठनलाई अघि बढाएको बताए ।
संगठनका नवनिर्वाचित अध्यक्ष राम प्रसाद पोख्रेलले सल्लाह–सुझाव लिएर अघि बढ्ने बताए ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य, सशस्त्र प्रहरी बल नेपाल नं. २७ गणका सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गा थापा, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीका वाणिज्य उपाध्यक्ष राम मिलन यादव, सिद्धार्थ होटल एशोसियशनका वरिष्ठ उपाध्यक्ष किशोर जोशी, होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश बेल्बासे, सल्लाहकार कृष्ण प्रसाद अधिकारी (सागर), महासचिव राजेश महोत्रा, मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवाली, होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन, रुपन्देहीको १० औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनका निर्वाचन समिति संयोजक सुरेन्द्र बस्याल लगायतले बोलेका थिए ।
संगठनले तीनजनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको महासचिव बाल बहादुर घिमिरे (सुनिल)ले बताए । मनोनित हुनेमा सुमन न्यौपाने, हरि ज्ञवाली र रमा मरासिनी आचार्य रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij