
सोमवार , आश्विन २९, २०८०
भैरहवा, २९ असोज ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा आइतबारदेखि भैरहवामा दशैं सस्तो बजार–२०८० सुरु भएको छ । ‘स्वदेशमै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ सुरु भएको सस्तो बजार कार्तिक ३ गते सम्म सञ्चालन हुने संघले जनाएको छ । बजार सिद्धार्थनगर–१२ कालिकापथस्थित संघ परिसरमा सञ्चालन भएको छ ।
दशैं सस्तो बजार–२०८० को आइतबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका छन् । सो कार्यक्रममा बोल्दै गृहमन्त्री पाण्डेयले विषम परिस्थितिमा आर्थिक मन्दीकाबीच संघले दशैं सस्तो बजार सञ्चालन गर्नु सराहनीय रहेको बताए । उनले आर्थिक क्षेत्र चाँडै नै चलायमान हुने विश्वास व्यक्त गरे ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले प्रदेश सरकारले पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, उद्योग, व्यवसाय लगायतका क्षेत्रमा काम गर्ने बताए । उनले भने, ‘भगवान गौतमबुद्धको पवित्र भूमि लुम्बिनीलाई पर्यटनको केन्द्र बनाउनुपर्छ । कुरा मात्र गरेर हुँदैन । काम गर्नुपर्छ ।’ उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रदेश सरकार लागिपरेको बताए ।
पर्यटन भित्र्याउन राम्रो र सीमा नाकामा सहज वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उनले पर्यटन क्षेत्रको विकासका लागि सरकार र स्थानीय संघ–संस्था दुवैको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले स्वदेशी तथा गुणस्तरीय वस्तु एवं सेवाहरुको उपभोगप्रति सचेत गराउने तथा आउँदै गरेको नेपालीहरुको महान चाडपर्वहरुमा आम उपभोक्ताहरुलाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गर्ने उद्देश्यले बजार सञ्चालन गरिएको बताए । विभिन्न उद्योग, व्यवसायीहरुसँगको सहकार्यमा उपभोक्तालाई सर्वसुलभ रुपमा एकै थलोबाट सहज तरिकाले दैनिक उपभोग्य वस्तुहरु विक्रीवितरण गर्ने, स्थानीय खाद्य पदार्थको प्रवद्र्धन तथा उचित मूल्यबारे जानकारी गराउने पनि बजार सञ्चालनको उद्देश्य रहेको श्रेष्ठले बताए ।
‘६ दिनको संघको हाम्रो प्रयासबाट केही हदसम्म भए पनि भैरहवामा आर्थिक चलायमान हुने, स्वदेशी उद्योगी व्यवसायका उत्पादनहरुको प्रचारप्रसार हुने र आम उपभोक्ताहरुले सर्वसुलभ रुपमा उपभोग्य वस्तुहरु खरिद गर्ने अवसर प्राप्त गर्नेछन्, ’श्रेष्ठले भने ।
विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुको सहभागीता रहने दशैं बजारमा दैनिक उपभोग्य खाद्यान्न, जुत्ता, चप्पल, घरेलु उत्पादन, खाजा घर, दुईपांग्रे अटोमोबाईलसहितका स्टलहरु रहेको आयोजकले जनाएका छन् । बजारमा स्थानीय भैरहवा क्षेत्रबाट करिब १५ हजार उपभोक्ता तथा अवलोकनकर्ता आउने र करिब ५० देखि ६० लाख रुपैयाँ बराबरको कारोबर हुने अनुमान गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघले जनाएको छ ।
उपभोक्ताहरुले विभिन्न स्टलहरुबाट ५ हजार रुपैयाँ भन्दा माथिको सामान खरिद गरेको बीलको आधारमा भैरहवास्थित काशी सिनेप्लेक्सबाट एउटा टिकट निःशुल्क व्यवस्था समेत गरिएको आयोजकले जनाएका छन् । आयोजकका अनुसार दशैं बजारमा उपभोक्ता तथा अवलोकनकर्ताहरुको सुरक्षालाई मध्यनजर गरी सीसीटिभी क्यामेरा जडान गरिएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले दशैं सस्तो बजार अवधिका लागि उत्पादक तथा व्यवसायीसँग सम्पर्क गरेर होलसेल मूल्यमा उत्पादित वस्तु उपलब्ध गराउन लागिएकाले अन्य समयको तुलनामा सामान सस्तो हुने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यको स्वागत तथा सचिव मंगल भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेश कुमार अग्रवाल लगायतले बोलेका थिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघले पहिलोपटक वि.सं. २०५८ साल कार्तिक १ देखि ६ गतेसम्म भैरहवा नमूना उच्च माध्यमिक विद्यालय परिसरमा दशैं बजार, कार्तिक २४ देखि २६ गतेसम्म संघ परिसरमा तिहार बजार सञ्चालन गरेको थियो । त्यस्तै दोस्रोपटक वि.सं. २०५९ साल असोज २१ देखि २६ गतेसम्म र तेस्रोपटक वि.सं. २०७९ साल असोज ११ देखि १४ गतेसम्म संघ परिसरमा दशैं बजार सञ्चालन गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij