
आइतवार , आश्विन २८, २०८०
भैरहवा, २८ असोज ।
लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले पर्यटनकै माध्यमले यो देश आर्थिक रुपमा समृद्ध बन्ने बताएका छन्। उनले हाइड्रोपावर, भौतिक पूर्वाधार वा अन्य कुरा जति गरे पनि देशलाई आर्थिक रुपमा समृद्ध बनाउने क्षेत्र पर्यटन भएको बताए।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित लुम्बिनीरोड (गौतमबुद्ध अन्तर्राष्ट्रिय) विमानस्थल नजिकै रहेको होटल समृद्धि प्रा.लि.को आइतबार उद्घाटन गर्दै मन्त्री पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘लुम्बिनी प्रदेशलाई आर्थिक रुपले समृद्ध बनाउन सक्ने भनेकै यही विमानस्थल हो । पर्यटनकै माध्यमबाट यो ठाउँलाई आर्थिक रुपमा सम्पन्न बनाउन सक्छौं ।’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले लुम्बिनी पर्यटनको केन्द्र भएको बताए । उनले आर्थिक मन्दी नेपालमा मात्र नभइ कोरोना महामारीका कारण विश्वव्यापी रहेको र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए । मन्त्री पाण्डेयले पर्यटन क्षेत्रलाई अगाडि बढाउन प्रदेश सरकारले नेतृत्व लिने बताए । उनले भन्सारमा आफ्नै कर्मचारी राख्ने योजनामा प्रदेश सरकार रहेको जानकारी दिए ।
‘पर्यटकलाई स्वागत गर्न अतिथि देव भव भन्ने नारा छ तर यहाँ केही निकायले अतिथि देउ भव जस्तै पर्यटकसँग लिने मात्र काम गरेका छन्, ’उनले भने । पर्यटकलाई सास्ती नहोस् भन्नेतर्फ लागेको उनको भनाइ छ । मन्त्री पाण्डेयले होटल सञ्चालनमा सरकारको पनि जिम्मेवारी रहेकोले आवश्यक सहयोग हुने प्रतिवद्धता जनाए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले देशको अर्थव्यवस्था खराब रहेको बताए । उनले मुलुकमा बेरोजगारी बढेको भन्दै चिन्ता व्यक्त गरे ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय भैरहवाका महाप्रबन्धक हसंराज पाण्डेले पर्यटन क्षेत्र र विमानस्थल एक–अर्काका परिपूरक भएको बताए । उनले सम्भवत कार्तिक १५ गतेदेखि विमानस्थलमा जजिरा एअरलायन्सले उडान पुनः सञ्चालन गर्ने बताए ।
श्री नवदुर्गा माध्यमिक विद्यालय व्यवस्थापन समिति सिद्धार्थनगर–४ का अध्यक्ष गोविन्द यादवले होटलले प्रगति गरोस् भन्दै सफलताको शुभकामना व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगरका सभापति पर्शुराम पराजुलीले होटलले सफलता प्राप्त गरोस् भन्दै शुभकामना व्यक्त गरे ।
होटल समृद्धि प्रा.लि.का प्रबन्ध निर्देशक राम बहादुर थापाले अहिलेको परिस्थितिमा आर्थिक मन्दीसँग जुध्दै होटल सञ्चालनमा ल्याएको बताए । उनले होटलको विशेषता हेरी ग्राहकले सेवाको मौका दिने विशेष गरे । उनले सरकार, स्थानीय तह, सुरक्षा निकायबाट आवश्यक सहयोग पाउने विश्वास व्यक्त गरे ।
१५ करोड लगानीमा सञ्चालनमा आएको होटल समृद्धि प्रा.लि.को आइतबार लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका हुन् । होटलमा ३६ वटा कोठा रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij