
शनिवार , आश्विन २७, २०८०
भैरहवा, २७ असोज ।
‘ग्रिन लुम्बिनी, क्लिन लुम्बिनी’ अभियान अन्तर्गत बुद्ध जन्मस्थल लुम्बिनीको गुरुयोजना क्षेत्रभित्र शनिबार सरसफाई गरिएको छ । लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरुको सहभागीतामा बसपार्कदेखि केन्द्रीय नहर हुँदै शान्तिदीपसम्म सरसफाई गरिएको हो ।
कोषले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र नियमित रुपमा सरसफाई गर्दै आए पनि लुम्बिनीलाई सफा र सुन्दर राख्न सबै पक्षलाई जिम्मेवार बनाउने उद्देश्यले बेला बेलामा सरसफाई अभियान सञ्चालन गर्ने गरेको जनाएको छ ।
शनिबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई, लेखा अधिकृत भिम बस्नेतसहितको उपस्थितिमा सरसफाई गरिएको हो ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई स्वच्छ र सफा राख्ने उद्देश्यले नियमित सरसफाईसँगै समयसमयमा अभियान चलाएर सरसफाई गर्ने गरिएको सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले नीति तथा कार्यक्रममा समेत लुम्बिनीलाई सफा र स्वच्छ राख्न कोषको अगुवाइमा वर्षमा कम्तीमा २ वटा र अन्य संघ–संस्थासँग मिलेर सरसफाई गर्ने योजना बनेको बताए ।
शनिबार बसपार्क, हेलिप्याड क्षेत्र, केन्द्रीय नहरको दायाँबायाँ हुँदै शान्तिदीपसम्म सरसफाई गरिएको सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले जानकारी दिए ।
यसअघि बुद्धजयन्तीको अवसर पारेर बैशाख महिनामा लुम्बिनी गुरुयोजना क्षेत्रभित्र पदाधिकारी र कर्मचारीहरुको सक्रियतामा सरसफाई गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij