२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

छठसम्म लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट  

आइतवार , आश्विन २१, २०८०

बुटवल, २१ असोज । 
लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरुको महान चाड दशैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ । असोज २१ गतेदेखि लागू हुने गरी ल्याइएको यो अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिन ४० प्रतिशत छुट दिने भएको छ । 

यो अफर अनुसार अब शनिबारबाहेक अन्य दिनहरुको टिकट दर ४५० रुपैयाँ कायम भएको छ । नेपालीहरुको महान चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए । 

टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेण्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने अपरेसन म्यानेजर सैंजूले जानकारी दिए । 

चाडपर्वमा आम सर्वसाधारण परिवारसहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफर जस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ । 

आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ । टप स्टेशनमा कम्पनीले ४० लाख लागतमा जीपलाइन सञ्चालनमा ल्याइसकेको छ भने छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँंदैछ । 

कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कवापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरी सम्झौता भएको छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बाँडफाड गर्ने गरी सम्झौता भएको छ।

टप स्टेशनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनोसहित पाँचतारे होटल बनाउने तयारी गरेको छ ।