
बुधवार , माघ १४, २०७७
परासी, १४ माघ ।
पश्चिम नवलपरासीमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीले उक्त खोप स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरी खोप अभियानको शुभारम्भ गरेका हुन् ।
खोप अभियन शुभारम्भपछि जिल्ला पृथ्वी चन्द्र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुलहोदाले खोपप्रति स्वास्थ्यकर्मीहरुको मानसिक त्रास हटाउन र मनोबल उच्च राख्न सन्देश दिन पहिलो खोप आफुँ नै लगाई खोप कार्यक्रमलाई अगाडी बढाएका हुन् ।
जिल्लामा आजदेखि सुरु भएको यो खोप कोभिड–१९ व्यवस्थापन तथा रोकथामका लाग अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, शवबाहन तथा एम्बुलेन्स चालक, कोभिड संक्रमित शव व्यवस्थापन खटिने सुरक्षाकर्मी र महिला स्वयंसेविकाहरु गरी कुल ११ सय जनालाई दिइदैछ । यो खोप अभियान जिल्लामा १० दिन चल्ने छ । आजमात्र १०० जनालाई खोप दिदै छ । जिल्लामा कुल २३८० डोज खोप आएको छ । पहिलो चरणमा खोप लिनेले खोप लिएको मितिबाट एक महिना पछि अर्काे चरणको पनि खोप लिनु पर्ने छ अनि बल्ला खोपको प्रभावकारिता देखिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको ७ वटै पालिकामा रहेका स्वास्थ्यकर्मी र कोभिड व्यवस्थापनमा खटिनेहरुलाई पालैपाले उक्त खोप लगाईने छ । आज रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाको पालो रहेको छ भने अरु दिन थप अरु पालिकाका स्वास्थ्य कर्मीहरुलाई लगाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो खोप नौलो र पहिलो भएकाले डाक्टरको प्रत्यक्ष निगरानीमा लगाइनेछ । खोप लगाउने स्वास्थ्यकर्मीमा यदि कुनै प्रकारको समस्या देखियो भने सोको उपचार र निदानका लागि इमरजेन्सी दक्ष चिकित्सक टोली परिचालन गरिने अस्पतालले जनाएको छ । खोप लिएपछि अस्पतालका निमित्त मेसु डा. नुरुलहोदाले यो खोप सुरिक्षत र भरपर्दाे रहेको बताए ।
खोप अभियान शुभारम्भ कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, प्रमुख अतिथि भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरी, अतिथि प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, प्रदेशसभा सदस्य दिपेन्द्र अधिकारी, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ता, स्वास्थ्य कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेल, अस्पतालका मेसु डा. नुरुलहोदा लगायलते यो खोप विश्वासिलो रहेको र सबै नेपालीमा पुग्नुपर्ने सरकारलाई आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij