
शनिवार , आश्विन ६, २०८०
भैरहवा, ६ असोज । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले युवाहरुलाई सामाजिक कार्यका साथै राजनीतिक रुपमा अगाडि आउन आग्रह गरेका छन् । उनले पछिल्लो समय युवाहरु राजनीतिक नेतृत्वमा आउने गरी अगाडि बढ्न आग्रह गरे ।
भैरहवामा आयोजित रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको प्रथम प्रेसिडेन्ट एण्ड सेक्रेटरी मिटलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले वैदेशिक हस्तक्षेपविरुद्ध लड्न राष्ट्रिय सहमति र एकता आवश्यक रहेकोमा जोड दिए । उनले युवाहरु सक्रिय राजनीतिमा आउन सके देशको विकास पनि तीव्र गतिमा हुन सक्ने उल्लेख गर्दै राजनीतिमा आउन युवाहरुलाई आग्रह गरे ।
उनले राष्ट्रिय एकता र एकता बिना वैदेशिक हस्तक्षेप रोक्न तथा नेपालको समग्र विकास सम्भव नभएकाले राष्ट्रिय हितका लागि युवाहरु एकढिक्का हुन आग्रह गरे । प्रदेश प्रमुख शेरचनले छिमेकी मुलुक भारत र चीनमा राष्ट्रिय एकताका कारण विकासले तीव्र गति लिएको उल्लेख गर्दै नेपालको विकासका लागि पनि सबै नागरिक एक ठाउँमा उभिनुपर्ने बताए । युवाहरुले आफुले सिक्ने ज्ञान र सीपलाई मुलुकको रक्षाका निम्ति प्रयोग गर्न पनि आग्रह गरे ।
कार्यक्रममा देशभरका १५० क्लबका ७२८ जना रोट्रयाक्ट युवायुवतीको सहभागीता रहेको थियो । उनीहरुलाई रोटरी ईन्टरनेशनलका पब्लिक डिष्ट्रिक ईमेज चियर राजकुमार गुप्ताले प्रशिक्षण दिएको रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष आशिक श्रेष्ठले जानकारी दिए । उनीहरुलाई एक वर्षमा गर्ने कार्यक्रमका विषयमा प्रशिक्षण दिइएको थियो ।
जोन १८ का जेडआरआर र सम्पूर्ण क्लबहरुको सहयोग र सक्रियताका कारण कार्यक्रम सफल भएको कार्यक्रम संयोजक अंकित पौडेलले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij