images

सोमवार, बैशाख १७ गते २०८१

सबैका प्रीय ओमकारको निधनले शोकाकुल भैरहवा

सबैका प्रीय ओमकारको निधनले शोकाकुल भैरहवा

images
images
images
सोमवार, आश्विन १ २०८०
सोमवार, आश्विन १ २०८०
  • सबैका प्रीय ओमकारको निधनले शोकाकुल भैरहवा

    त्यसरी होस् मरण

    images

    जसरी सुत्छन् तारमा, गीतका चारु चरण

    हिमालचुली देशमा, दिनको शान्त भेषमा

    जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण

    त्यसरी होस् मरण ।।

    उपरोक्त मृत्यु गीतको वाक्यांशमा भनेझै भैरहवालाई ६२ वर्षदेखि कर्मथलो बनाएका ओमकार गौचनको निधन भएको छ । हिन्दू सनातनी धर्ममा ओमकार शब्द सर्वश्रेष्ठ मानिन्छ । सर्वश्रेष्ठ ओमकार शब्दबाट नामको परिचय बनाएका गौचनलाई नचिन्नै कमै होलान् । उद्योगी, व्यापारी, नेता, आम सर्वसाधारणको प्रीय ओमकारको अकस्मात भएको निधनले यतिबेला सिंगो भैरहवा शोकमग्न छ । तथापी राष्ट्रकवि माधव घिमिरेले भनेझै त्यसरी होस् मरण सुन्दर सृष्टि निहारी, सुखैले चिम्लुँ नयन, बिहानीपख रातको, कुसुम पारिजातको, जसरी जान्छ झरेर, भुइँमा बिनापवन, त्यसरी होस् मरण ।। भएको छ ।

    शनिबारको दिन भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सभाहलमा नगरका विभिन्न संघ–संस्थाका लब्ध प्रतिष्ठित मान्छेहरुदेखि आम सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । मान्छेले खचाखच भरिएको हलमा बसेका मान्छेहरु एकआपसमा खासै कुरा गरेको देखिदैनथे । उनीहरुको अनुहारमा मलिनता छाएको थियो । हलभित्रका कुर्ची मात्रै भरिएका थिएनन् । छेउछेउमा उभिएकाहरु पनि मौन थिए । तर मान्छेहरु खासखुस पनि नगरी चुपचाप बसिरहेका थिए ।

    १४ दिन अगाडी महाप्रस्थान भएका ओमकार गौचनको श्रद्धाञ्जलीको लागि आयोजित उक्त कार्यक्रमको अग्रभागमा राखिएको तस्वीरले धेरैलाई सन्नाटा दिएको थियो । उक्त हलको अग्रभाग र मञ्चतर्फ गौचनलाई खोजीरहेका थिए त्यहाँ उपस्थित मान्छेहरुको आखाँले । किनकी भैरहवामा आयोजना हुने हरेक कार्यक्रममा गौचन सहभागी नहुने कार्यक्रम अपवादको रुपमा रहन्थे । त्यसमाथि उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमा संघकै पूर्वअध्यक्ष नहुने त कुरै भएन ।  तर भौतिक रुपमा नभेटिने गरी महाप्रस्थान भईसकेका गौचनको तस्वीरले धेरैको मन रुवाएको देखिन्थ्यो । सेतो दौरासुरुवालमा कालो कोट र शिरमा ढाका टोपी अनि घाँटीमा रातो गम्छा भिरेको, मुसुक्क मुस्कुराइरहेको तस्वीर माथि फूलको माला र खादा ओढाइएको थियो । त्यही तस्वीरतिर सबैका आखाँ थिए । तस्वीर हेर्दै मानिसहरु टोहोलाइरहेका थिए । सुकसुकाइरहेका थिए । एक अर्थमा भन्दा उक्त तस्वीरले नै मानिसहरुलाई रुवाइरहेको थियो ।

    मञ्चमा उनको जीवनसंगिनी, छोरा र छोरीहरु थिए । सबैले बेलाबेला आँसु पुच्छ्दै आफूलाई सकेसम्म नर्मल बनाउने कोशिस गरिरहेका थिए । भावविहवल मुद्रामा रहेका सबैजना मौन थिए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा दर्जनौ संघ–संस्थाका अध्यक्ष तथा प्रमुखले दिवंगत भइसकेका ओमकारको कर्मको प्रशंसा गरे । उनको छोरा सुधिर गौचन जब बोल्नलाई पोडिएममा पुगेर केही बोल्न थाले तब सबैमा रुवावासी भयो । मञ्चमा रहेका मात्रै होइन, हलमा बसेकाहरुका धेरैको आखाँबाट आँसु झरिरहेको थियो । अमेरिकामा बस्ने सुधिरले छोटो बोले, तर सारमा उनले भने, ‘पसल बन्द गरेर हामीसँगै आउनुस् भन्यौ । धेरैपटक अनुरोध गर्यौ । तर उहाँले मेरो भैरहवा, मेरो कर्मभूमि म छोड्दिन । यहाँ मेरो बीएमजी छ, यहाँ मेरो दाजुभाई धेरै छन, इष्टमित्र साथीभाई छन् भनिरहनुहुन्थ्यो ।’

    हरेक मञ्चीय कार्यक्रममा आफूले आर्थिक अभावको कारण पढ्न नपाएता पनि छोराछोरीलाई पठनपाठनमा अग्रसर गराएको उदाहरण दिने स्वर्गीय गौचनले धेरै असहाय बालबालिकाको शिक्षामा सहयोग गरेका छन् ।

    राज्यको कुनै पदीय जिम्मेवारीमा नभएको आम मान्छे ओमकार जसलाई कतिपयले ओमकार काका त कतिपयले ओमकार दादा भनेर सम्बोधन गर्ने गर्दथे । नेवाः खल सिद्धार्थनगरको आयोजनामा भएको गाईजात्रा कार्यक्रमको प्रमुख अतिथि बनेर सम्बोधन गरेपछि अवस्थ भएका उनी उपचारको क्रममा एकाएक महाप्रस्थान भए । संयोग पनि कस्तो,  विजय सागरहरुको संगतले नेवाः खलको हरेक कार्यक्रममा सहभागी हुने उनी आफूलाई कतिपय ठाउँमा ओमकार गौचन नभनेर ओमकार श्रेष्ठ भन्दा प्रीय लाग्दछ भन्दथे । हुन पनि उनको जीवनको अन्तिम कार्यक्रम नेवार समुदायको महत्वपूर्ण पर्वको प्रमुख अतिथि बन्न पुग्यो ।

    ८१ वर्षको उमेरमा पनि उनी तन्नेरीझै सामाजिक सेवामा अग्रसर थिए । एउटै शब्दमा भन्नुपर्दा ओेमकार नाम जस्तै भैरहवाको सुन्दर र दीर्घकालीन भविष्यको एकाकारको लागि निस्वार्थ क्रियाशील नागरिक अगुवा थिए । काठमाडौंमा बसेर उनले यति काम गरेको भए उनलाई सरकारी सम्मान हुने थियो होला । राजकीय सम्मानको साथ अन्तिम सस्कार गरिन्थ्यो होला । एक दिन सार्वजनिक विदा दिइन्थ्यो होला । तर उनले मोफसलको भैरहवाको भुगोलमा ६२ वर्षदेखि गरेको कर्मलाई आम भैरहवाबासीले सदियौसम्म सम्झिरहनेछन् । यहाँको स्थानीय राज्यले सम्मान गर्ला नगर्ला तर आम नागरिकले सधै उनको कर्मलाई सम्झिरहनेछन् ।

    नागरिक अगुवाहरुको संस्था भैरहवा मर्निङ वाक ग्रुपको अध्यक्ष भएपछि उनको सामाजिक सेवाप्रतिको सक्रियता लोभलाग्दो नै थियो ।  विजय सागर जस्ता थिंक ट्यांकहरुको दौतरी समेत रहेका गौचन जति उमेर ढल्किदै थियो त्यति तन्नेरी मनले काम गर्दै थिए । हरेक प्रहर, हरेक रात, हरेक दिन उनी भैरहवाको भविष्यको बारेमा योजना बनाउने, बिहान मर्निङ वाक ग्रुपका सदस्यहरुसँग छलफल गर्ने र तत्कालै कार्यन्वयन तर्फ लागिहाल्थे । उनको सादा जीवनशैली पनि समाजको लागि अनुकरणीय छ ।

    विक्रम सम्वत २०१८ सालमा सुब्बा हितमान शेरचनसँगै जोमसोमबाट ११ दिन पैदल हिडेर भैरहवा आइ मासिक १ सय रुपैयाँको जागिर सुरु गरेका थिए गौचनले । औपचारिक शिक्षा कक्षा ७ सम्म मात्रै पढेका उनीमा जीवनको उत्तराद्र्धमा आउँदा अर्थ, बाणिज्य, शिक्षा र समाजशास्त्रको बारेमा कुनै पीएचडी स्कलर्स भन्दा कम ज्ञान थिएन । जीवनको संघर्षपूर्ण यात्रा तय गदै उनी २०२६ सालमा लिला गौचनसँग विवाह बन्धनमा बाधिएका थिए ।

    २०३० सालसम्म जागिरे रहेका उनले व्यापारमा हात बढाए । व्यापारले उनलाई प्रतिफल पनि दिदै गयो ।  भैरहवाको बैंकरोडमा गौचन फैन्सी सञ्चालन गरिरहेका उनले उक्त पसलमा समान किन्न जानेहरुसँग कहिल्यै व्यापारीक साईनो राखेनन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष समेत भइसकेका भैरहवाका दानवीरको रुपमा समेत परिचित थिए । भैरहवामा कुनै सामाजिक कामको सुरुवात गर्दा यदि अर्थ संकलन आवश्यक परेमा सबैभन्दा पहिलो सहयोग लिने ठाउँ गौचन फैन्सी नै थियो । किनकी गौचनले जोकोही पनि सहयोग माग्न जादा कहिल्यै खाली हात फर्काएनन् । हरेक किसिमको संस्थागत विकासमा खुल्ला दिलले सहयोग गर्ने गौचन साँच्चिकै परोपकारी थिए । मुनलाईट स्कुलको अध्यक्ष, भैरहवा नमूना माध्यमिक विद्यालयको सल्लाहकार, संस्कृत विद्याश्रमका सल्लाहकार, बैदिक सनातन धर्म सेवा समितिको सल्लाहकार समेत रहेका उनी पारदर्शीताको लागि क्रियाशील एक अभियन्ता समेत थिए । हक्की र निडर स्वभाव, प्रष्ट वक्ता र दयाका खानी गौचनले सिद्धार्थ साहित्य परिषदको सहकार्यमा मीन पद्म गौचन स्मृति पुरस्कारको लागि डेढ लाखको अक्षयकोष स्थापना गरेका छन् ।

    सबै धर्मप्रति अगाध आस्था र सद्भाव राख्ने गौचन भैरहवाको पहिचानको रुपमा रहेको लुम्बिनी गेटको निर्माणमा महत्वपूर्ण योगदान समेत दिएका छन् । भैरहवाको हरेक सामाजिक विकासमा गौचनको सहभागीता नभएको बिरलै होला । पछिल्लो समय भैरहवा मर्निङ वाक ग्रुप विज्ञहरुको समूहको रुपमा परिचित पनि हुँदै गएको छ । किनकी अनुभवले खारिएका विभिन्न क्षेत्र र विषय ज्ञाताहरु यो समूहका सदस्य रहेका छन् । तीनै ज्ञाताहरु मध्येको एक सदस्य जो भैरहवा जस्तो विविधतामा एकता भएको सहरको एउटा परिचित पात्र थिए । उनलाई नचिन्ने सायदै कमै होलान । जीवनको सुरुवातमा आर्थिक संकट टार्न जागिर गरेका उनी जीवनको उत्तराद्र्धमा भैरहवामा सम्पन्नशाली मानिन्थे । आफ्नै कर्मले सम्पन्नताको शिखरमा पुगेका उनी ८१ वर्षको उमेरमा पनि मोटरसाइकल कुदाउँदै औपचारिक कार्यक्रममा सरिक हुने गर्दथे ।

    नेपालमा केही छैन भनेर निराश हुनेहरुको ढाडस दिने गर्दथे । एकाबिहानै भैरहवाको गल्ली गल्ली घुमेर यहाँको प्रकृति नियाल्थे । के बुढा, के युवा, के महिला के पुरुष सबैका प्रीय थिए ।  त्यसैले त शनिबारको सिद्धार्थ उद्योग वाणिज्य संघको हलमा आफ से आफ सयौ मानिसहरु जम्मा भए । उनको श्रद्धाञ्जलीमा केहीले बोलेर श्रद्धाञ्जलीका शब्द राखे, नबोल्नेहरुले मनैदेखि ओमकार दादा, ओमकार काका भन्दै सुकसुकाईरहें । हरेकको आँखाबाट खसेका आशुँका थोपासँगै उनको निश्छलता प्रकट भइरहयो ।

    बूँद राना, विजय सागर, कपिल लामिछाने, बालकृष्ण भट्टराई, डिल्लीराज भट्टाराईहरुको संगतले हरेक साहित्यिक कार्यक्रममा अग्रसर हुने गरेका ओमकारको मरण राष्ट्रकवि माधव घिमिरेको ‘मृत्यु गीत’ नामक कवितामा भने झै भएको छ । यस्तो थियो मृत्यु गीतको केही अंश :

    त्यसरी होस् मरण

    जसरी सुत्छन् तारमा, गीतका चारु चरण

    हिमालचुली देशमा, दिनको शान्त भेषमा

    जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण

    त्यसरी होस् मरण ।।

    सुन्दर सृष्टि निहारी, सुखैले चिम्लुँ नयन

    बिहानीपख रातको, कुसुम पारिजातको

    जसरी जान्छ झरेर, भुइँमा बिनापवन

    त्यसरी होस् मरण ।।

    मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन

    बादलको सेतो रासमा, दुईवटा मूर्ति पासमा

    जसरी शिर नुहाई, आफैँमा हुन्छन् अर्पण

    त्यसरी होस् मरण ।।

    अमरापुरी सभामा, आफैँलाई गरूँ वरण

    त्यसरी होस् मरण ।।   

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij