
सोमवार , आश्विन १, २०८०
काठमाडौं, १ असोज ।
सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ । यससँगै चिकित्सक संघको स्वास्थ्य संस्था बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ ।
नेपाल चिकित्सक संघले उठाएका माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार आइतबार अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित वार्ता समिति र नेपाल चिकित्सक संघका अध्यक्षसहितका प्रतिनिधिहरु भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो । जसअनुसार मकवानपुरको सञ्चो अस्पतालमा डिउटीमा रहेका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएका दोषीहरूलाई कारवाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
हाल पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका ५ जनासहित अन्य दोषीहरूलाई कानूनबमोजिम बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने सहमति भएको वार्ता समितिका संयोजक डा. विकास देवकोटाले जानकारी दिए ।
उनकाअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को प्रभावकारी कार्यान्वयनको लागि सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने पनि सहमति भएको छ ।
त्यसै गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को दफा ५ बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने सहमति भएको छ ।
त्यसै गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा लैजाने, चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदशिने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति पनि भएको छ ।
सोही सहमतिअनुसार संघको अगुवाइमा भएको देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरू बन्द लगायतका घोषित सम्पूर्ण कार्यक्रम स्थगित गर्ने सहमति भएको देवकोटाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij