२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

स्थापना दिवसमा तिलोत्तमा चेम्बरद्वारा आश्रमका जेष्ठ नागरिकलाई फलफूल वितरण

आइतवार , भाद्र ३१, २०८०

बुटवल, ३१ भदौ । 
तिलोत्तमा चेम्बर अफ कमर्श रुपन्देहीले आफ्नो १० औं स्थापना दिवसको अवसरमा वृद्धवृद्धाहरुलाई भोजनसहित फलफूल वितरण गरेको छ । बुटवल उपमहानगरपालिका–२ स्थित मैनाबगरमा रहेको सिद्धबाबा शिवकुमारी सैजू वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई आइतबार तिलोत्तमा चेम्बरले नगदसहित भोजन गराउनुका साथै फलफूल वितरण गरेको हो ।

उक्त वृद्धाश्रम कृष्ण रेश्मीले व्यवस्थापन गर्दै आएका छन् । स्थापना दिवसको अवसरमा गरिने फजुल खर्चलाई कटौती गरी मानवीय सेवा कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले वृद्धवृद्धालाई सहयोग गरिएको तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसालले बताए ।

त्यसअवसरमा बोल्दै चेम्बरका सल्लाहकार मोहन चापागाईंले मानव जीवनको उत्तराद्र्धमा पुगेका नागरिकलाई परिवार तथा समाजमा उचित सम्मान र गौरवपूर्ण आत्मबोधका साथ जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित हुनु अपरिहार्य रहेको भन्दै यस्ताखाले मानवीय कार्यलाई सबैले अनुशरण गर्नुपर्ने बताए ।

चेम्बरका संस्थापक अध्यक्ष जेपी कंडेलले संस्था विभिन्न उतारचढाव पार गर्दै स्थापनाको  दशौं वर्षमा आएको भन्दै यो अवसरमा संरक्षण अभाव लगायतका विभिन्न कारणबाट परिवार र समाजबाट अलग्गिनु र एक्लिनु परेका जेष्ठ नागरिकलाई सहयोग गर्ने अवसर पाउनु सुखद पक्ष रहेको बताए ।

वृद्धाश्रममा रहेका ८ जना वृद्धवृद्धाहरुलाई खाना खुवाएर नगदसहित खाद्य सामग्री हस्तान्तरण गरिएको संस्थाका महासचिव विष्णु बरालले बताए ।