२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

सि.एम.ए. संघले उठाएका माग सरकारले सम्बोधन नगरे अदालत जाने चेतावनी

आइतवार , भाद्र ३१, २०८०

भैरहवा, ३१ भदौ ।
नेपाल सि.एम. संघले उठाएका माग सरकारले सम्बोधन नगरे अदालत जाने सि.एम.ए.हरुले चेतावनी दिएका छन् । उनीहरुले नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्याइरहेका सि.एम.ए.ले उठाएका माग सरकारले सम्बोधन गर्नेतर्फ चासो नदेखाएको गुनासो गरेका छन् । 

नेपाल सि.एम.ए. संघ जिल्ला कार्यसमिति रुपन्देहीको पाँचौ जिल्ला अधिवेशनलाई शनिबार भैरहवामा सम्बोधन गर्दै सि.एम.ए. हरुले आफूहरुले पनि औषधी विक्रीवितरण गर्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले सरकारी स्वास्थ्य संस्थाबाट औधषी वितरण गर्न पाउने तर निजी क्लिनिकबाट औषधी वितरण गर्न नपाउनु दुःखद भएको बताए ।

संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले माग सम्बोधन गराउन आन्दोलन र अदालती प्रक्रियालाई सँगसँगै लैजाने बताए । उनले मर्यादाभित्र रहेर क्लीनिक सञ्चालन गर्न पाउनुपर्ने माग गरे ।

देशको ८० प्रतिशत स्वास्थ्य सेवा सि.एम.ए.ले धानेको र सि.एम.ए. लाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । उनले केही मेडिकल माफियाका कारण स्वास्थ्य क्षेत्र समस्यामा परेको बताए । उनले भने, ‘देशमा महामारी फैलिदा सि.एम.ए. अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन् । ’ 
त्यस्तै सि.एम.ए. संघका केन्द्रीय सदस्य जनकराज पन्तले सि.एम.ए. पद नभइ उपाधि भएको बताए । उनले भने, ‘अवेह पद हो । आफूहरुले उठाएका माग सम्बोधन गराउन लाग्छौं । अब चुप लागेर बस्दैनौ ।’

भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष आनन्द प्रसाद गुप्ताले कोभिड–१९ मा सि.एम.ए.लगायत स्वास्थ्यकर्मीको योगदान महत्वपूर्ण रहेको चर्चा गरे । उनले भने, ‘अधिकार पाउनका लागि लड्नुपर्छ ।’

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले स्वास्थ्यकर्मीप्रति दुव्र्यवहार निन्दनीय भएको बताए । उनले सि.एम.ए. संघको उठाएको उचित माग सम्बोधन गर्नुपर्ने बताए ।

रुपन्देही नागरिक समाज सिद्धार्थनगरका वरिष्ठ उपाध्यक्ष श्रीराम गुप्ताले कोभिड–१९ महामारीमा सि.एम.ए.ले ज्यानको बाजी लगाएर बिरामीको सेवा गरेको बताए ।

मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले देशको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका सि.एम.ए.को राज्यले मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।

नेपाल सि.एम.ए.संघ रुपन्देहीका सल्लाहकार प्रमोद ज्ञवालीले स्वास्थ्यकर्मीका समस्या समाधानका लागि एकजुट भएर अघि बढ्न आग्रह गरे ।

सि.एम.ए. संघ रुपन्देहीका संरक्षण समिति सदस्य गोविन्द उपाध्यायले दुरदराज र गाउँगाउँमा सि.एम.ए.ले स्वास्थ्य सेवा पुर्याइरहेको बताए ।

सि.एम.ए.संघ रुपन्देहीका कार्यसमिति सदस्य गोपाल बन्जाडेले सि.एम.ए.को अधिकार सुनिश्चित हुनुपर्ने माग गरे । संघका सल्लाहकार विजयनाथ चौधरीले राज्यले सि.एम.ए.को माग सम्बोधन नगरेको बताए ।

नेपाल सि.एम.ए. संघ रुपन्देहीका अध्यक्ष शशिकान्त उपाध्यायको अध्यक्षता, संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायको प्रमुख आतिथ्यता, जिल्ला उपाध्यक्ष विरेन्द्र चौधरीको स्वागत तथा विशाल श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अधिवेशनले पुनः शशिकान्त उपाध्यायको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।