२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

‘अरुलाई पीडा दिन नजानेका ओमकार गौचनको निधनले समाजलाई अपूरणीय क्षति’

आइतवार , भाद्र ३१, २०८०

भैरहवा, ३१ भदौ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार ओमकार गौचनको सम्झनामा भैरहवामा श्रद्धाञ्जली सभा गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वयमा भैरहवाका विभिन्न संघ–संस्थाले शनिबार श्रद्धाञ्जली सभा आयोजना गरेका हुन् ।

सिद्धार्थनगर–१२ कालिकापथस्थित संघको सभाहलमा भएको उक्त सभामा भैरहवा क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

गत भदौ १७ गते समाजसेवी ओमकार गौचनको उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो । वि.सं. २००० साल वैशाख १७ गते मुस्ताङमा जन्मिएका गौचन भैरहवामा व्यवसायसँग समाजसेवामा सक्रिय थिए । उनले विभिन्न संघ–संस्थाको समेत नेतृत्व गर्दे आएका थिए । समाजमा रहेका विकृति, विसंगति, ढिलासुस्तीबारे निरन्तर उनले आवाज उठाउँदै आएका थिए ।
उद्योग वाणिज्य संघको सल्लाहकारको भूमिका निभाउँदै आएका पूर्वअध्यक्ष गौचनका योगदानको स्मरण गर्न र श्रद्धाञ्जली अर्पण गर्न सभा आयोजना गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, भैरहवा मर्निङवाक ग्रुप, बैद्धिक सनातन धर्म सेवा समिति, लायन्स क्लब अफ सिद्धार्थनगर, जेसीआई सिद्धार्थ नेपाल, थकाली सेवा समाज, नेत्र ज्योति संघ, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, संस्कृति विद्याश्रम र सहीद स्मृति पुस्तकालयको संयुक्त आयोजनामा सभा गरिएको हो ।

श्रद्धाञ्जली सभामा भैरहवा मर्निङ वाक ग्रुप (बी.एम.जी.) का संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले अरुलाई पीडा दिन नजानेको ओमकार गौचनको निधनले समाजलाई अपूरणीय क्षति भएको बताए । उनले भने, ‘उहाँले अरुको दुःख देख्न सक्नुभएन, अरुको दुःखलाई आफ्नै दुःख सम्झेर समाजका लागि अतुलनीय योगदान पुर्याउनुभयो ।’

श्रद्धाञ्जली सभामा बोल्ने उद्योगी–व्यवसायी र संघसंस्थाका प्रमुख एवं प्रतिनिधिले स्व. ओमकार गौचनले सामाजिक र यहाँको विकासका लागि निरन्तर आवाज उठाएको स्मरण गरे । उनीहरुले भैरहवाले एउटा असल अभिभावक गुमाएको बताए । 

सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।