
आइतवार , भाद्र ३१, २०८०
भैरहवा, ३१ भदौ ।
विश्वव्यापी रुपमा जलवायु परिवर्तनको मुद्दा निकै नै पेचिलो हुँदै गइरहेको विद्यमान अवस्थामा नेपाल पनि त्यसको मारमा परेको छ । यसै सन्दर्भमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुन गइरहेको संयुक्त राष्ट्र महासभा : जलवायु महत्वाकांक्षी शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुँदैछन् । न्यूयोर्कमा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यसै अवसरमा विश्वका विभिन्न राष्ट्र तथा शहरहरुमा अब खनिज इन्धन नै जलवायु परिवर्तनको मुख्य कारक रहेको र यसको प्रयोग तथा लगानी पूर्ण रुपमा बन्द गरिनुपर्ने तथा नवीकरणीय उर्जामा लगानी गरिनुपर्ने विषयमा विभिन्न ठाउँमा र्याली प्रदर्शन गरिएको छ ।
नेपालका ८ शहरसहित दिगो विकासद्वारा आयोजित तथा युथ फर कन्जरभेसन एण्ड सस्टेनएवल एग्रीकल्चरको सहयोगमा गरिएको र्याली भैरहवाको देवकोटा चोकदेखि सुरु भइ सिद्धार्थ रंगशालाको अगाडि पुगेर समापन भएको थियो ।
सिद्धार्थनगर नगरपालिकाका उप्रमुख उमा अधिकारीको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न युवा संजाल, विभिन्न संघ–संस्थाहरु, भैरहवा साईकल सिटी, जेसीज तथा ब्राइट स्टार स्कूललगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij