
आइतवार , भाद्र ३१, २०८०
भैरहवा, ३१ भदौ ।
राष्ट्रिय बाल दिवस–२०८० को अवसर पारेर नेपाल बाल कल्याण संस्था, सिद्धार्थनगर रुपन्देहीले २१ जना विद्यार्थीलाई छात्रवृत्ति तथा सहयोग प्रदान गरेको छ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नाराका साथ मनाइएको यस वर्षको ५९ औं बाल दिवसको अवसरमा संस्थाले सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री भानु माध्यमिक विद्यालय र सिद्धार्थनगर–१२ स्थित सिद्धार्थ आधारभूत विद्यालयलाई छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि १–१ लाख रुपैयाँ प्रदान गरेको छ ।
नेपाल बाल कल्याण संस्था, सिद्धार्थनगरका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले छात्रवृत्ति रकमबाट प्राप्त ब्याज प्रत्येक वर्ष गरीब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने बताए । संस्थाले सिद्धार्थनगरस्थित बहिरा बाल माध्यमिक विद्यालयका ५ जना, आशाज्योति सहयोग समिति विद्यालयका ५ जना, श्री रामनरेश यादव आदर्श नमूना मावि धकधईका ५ जना, बोधवार माविका २ जना, जनजागृति आधारभूत प्राविका २ जना, भानु माविका १ जना र भैरहवा नमूना माविका १ जना विद्यार्थीलाई छात्रवृत्ति तथा सहयोग उपलब्ध गराएको हो ।
छात्रातर्फ कक्षा १२ को परीक्षामा ३ दशमलव ७५ जिपीए ल्याइ सिद्धार्थनगर क्षेत्रका सामूदायिक विद्यालयमध्येबाट उत्कृष्ट हुन सफल भएको भन्दै भानु माविकी सुरक्षा सापकोटालाई सम्मान गरिएको हो । त्यसै गरी छात्रतर्फ कक्षा १२ को परीक्षामा ३ दशमलव ५० जीपीए ल्याउने भैरहवा नमूना माविका अंकित आचार्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाले बालबालिकालाई उनीहरुलाई गरिने कार्यलाई सजाय नभइ सच्याउनुपर्ने बताए । उनले बाल कल्याणको विषयका सन्दर्भमा कुनै एक संस्थाको प्रयास मात्र सार्थक नहुने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बालबालिकामा लगानी भनेको पुस्तौ पुस्तासम्मको लगानी हुने बताए । उनले बालबालिकालाई नैतिक शिक्षा आवश्यक रहेकोमा जोड दिए ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले अब आर्थिक मात्र नभइ सामाजिक लगानी आवश्यक रहेको बताए । उनले भएको लगानीको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल बाल कल्याण संस्था सिद्धार्थनगरका उपाध्यक्ष धर्म बहादुर खड्काले बालबालिकाको अवस्था सुधारका लागि साझा रुपमा प्रस्तुत हुनुपर्ने बताए । संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार दिलिप भट्टराईले बालबालिकाले पाउने अधिकारबाट कतिपय बालबालिका वञ्चित रहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पठनपाठनको नाममा बालबालिकालाई घरमा श्रमिकको रुपमा राख्नु अनुचित भएकाले अनुगमन आवश्यक रहेको बताए ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले बालबालिकाको अर्थपूर्ण सहभागीता आवश्यक रहेको बताइन् ।
नेपाल बाल कल्याण संस्था सिद्धार्थनगर, रुपन्देहीका महासचिव अधिवक्ता दिलिप कुमार मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल बालकल्याण संस्थाका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेल, पूर्वअध्यक्ष तथा अग्रज पत्रकार दिलिप भट्टराई तथा संस्थाका कार्यसमिति सदस्य एवं कान्तिपुर पब्लिकेशनका उपसम्पादक माधव ढुंगानालाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij