२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

‘स्वर्गीय बिन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कार’ पशुपति यादवलाई

शुक्रवार , भाद्र २९, २०८०

भैरहवा, २९ भदौ । 
पत्रकार स्वर्गीय बिन्दु कुमार चौहानको स्मृतिमा स्थापित ‘स्वर्गीय बिन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पशुपति यादवलाई प्रदान गरिएको छ । मधेशी पत्रकार समाज नेपाल, रूपन्देहीले स्वर्गीय चौहानको स्मृतिमा स्थापना गरेको सो पुरस्कार लुम्बिनी खबर अर्धसाप्ताहिक पत्रिका धकधई शाखा प्रमुख यादवलाई प्रदान गरेको हो । 

मधेशी पत्रकार समाज जिल्ला कार्यसमिति, रुपन्देहीले शुक्रबार ओमसतिया गाउँपालिकाको सभाहलमा आयोजना गरेको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले पत्रकार यादवलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी रु. १० हजार रहेको मधेशी पत्रकार समाज रुपन्देहीका कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्ताले बताए ।

प्रत्येक वर्ष एकजना उक्त पत्रकारलाई प्रदान गरिदै आएको छ । गत वर्ष उक्त पुरस्कार पत्रकार मोहम्मद हबिबलाई प्रदान गरिएको थियो । 

कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले पत्रकारिता जोखिमपूर्ण पेशा पनि भएको बताए । उनले मधेशी पत्रकार समाज रुपन्देहीले सराहनीय कार्य गरेको बताए । उनले भने, ‘यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्न मेरोतर्फबाट र गाउँपालिकाकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

त्यस्तै मधेशी पत्रकार समाज लुम्बिनी प्रदेश संयोजक तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यसमिति सदस्य राम विकास चौधरीले पत्रकार स्व. बिन्दु कुमार चौहान आफ्नो कामप्रति कति पनि विचलित नभइ अघि बढ्नुभएको बताए । उनले भने, ‘बिन्दु कुमार चौहानले पत्रकारिता क्षेत्रमा क्रियाशिल रहँदा थुप्रै चुनौतिको सामना गर्नुभयो, तर कहिल्यै पनि विचलित हुनुभएन । निरन्तर समाजका लागि पत्रकारितामार्फत योगदान पुर्याउनुभयो ।’

लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले पत्रकार पत्रकार स्व. बिन्दु कुमार चौहानले पुर्याएको योगदान सदैव स्मरणीय रहने बताइन् । उनले लुम्बिनी प्रेस क्लब र मधेशी पत्रकार समाजबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको उल्लेख गरिन् ।

मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माले स्व. बिन्दु कुमार चौहान प्रेरणाको स्रोत रहेको र उहाँको योगदानलाई समाजले सम्झिरहने बताए ।

समाजका अध्यक्ष राधेश्याम विश्वकर्माको अध्यक्षता, ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) को प्रमुख आतिथ्यता, मधेशी पत्रकार समाज रुपन्देहीका कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्ताको स्वागत तथा सचिव हृदयराम गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

पत्रकार चौहानको २०७८ भदौ २९ गते उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा निधन भएको थियो । उनी बुटवल टुडे दैनिक, बुद्ध सामुदायिक टेलिभिजन लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत थिए ।