
बिहिवार , भाद्र २८, २०८०
रुपन्देही, २८ भदौ ।
तीज पर्व मनाउँदा सँगसँगै महिला नयाँ मुद्दाहरु उठाउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । चाडपर्व मनाउँदा आफ्ना हकअधिकारलाई अझ बढी मुखरित गर्नुपर्ने वक्ताहरुको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ तथा तीज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले समय अनुसार महिलाका नयाँ मुद्दाहरु उठाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा अभियानका लागि रुपन्देही इञ्चार्ज गणेशमान पुनले चाडपर्व मनाउँदै गर्दा महिलाले उठाउनुपर्ने नयाँ मुद्दाहरु छुटाउन नहुने बताए । उनले भने, ‘तीज मनाउँदा पहिले दुःखसुख, रोदन र पीडाका कुरा गाइन्थ्यो तर अहिले समय बदलिदै गएको छ, अब महिलाका नयाँ मुद्दाहरु उठाउन जरुरी छ ।’
महिलाका हकअधिकार मात्र नभएर समग्र राज्य प्रणालीमा महिलाको समान सहभागीता अहिलेको आवश्यकता भएको उनले चर्चा गरे । अहिलेको सरकारले गरेका कतिपय राम्रा भ्रष्टाचारविरोधी अभियानलाइ गाउँ–गाउँसम्म पुर्याउन महिलाको मुख्य भूमिका हुने भन्दै उनले महिलाहरु अब राजनीतिको उच्च तहसम्म पुग्ने गरी क्षमता विकासका कार्यक्रममा सहभागी हुनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायणी शर्माले माओवादीमा आबद्ध महिलाले समाज रुपान्तरण अभियानलाई सहयोग हुने गरी पर्वहरु मनाउनुपर्ने उल्लेख गरिन् ।
संविधानसभा सदस्य सोनिया यादवले मधेशी महिलाका मुद्दालाई राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै पिछडिएका मधेशी महिलाहरु अब राजनीतिको मूलधारमा आउनुपर्ने आवश्यकता औंल्याइन ।
कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले महिलाहरु राज्यका माथिल्ला तहमा पुगेर राज्य चलाउन सके अनियमिताहरु कम हुन सक्ने बताए । उनले पुरुषको तुलनामा महिलाहरु धेरै इमान्दार हुने हुँदा महिलाले नेतृत्व गरेका निकायमा अनियमिताताहरु नहुने विश्वास व्यक्त गरे ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का रुपन्देही जिल्ला अध्यक्ष दिपिका शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेतृहरु कल्पना थापा, धनकुमारी चौधरीलगायतले बोल्दै महिला सशक्तिकरणका मुद्दाहरुमा केन्द्रीय भएर अभियान चलाउनुपर्ने उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij